२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राप्रपामा कमल थापालाई सर्बसम्मत अध्यक्ष बनाइने


0
Shares

एकता अधिवेशनको दुई दिन अघि नै नेताहरुले उक्त सहमति गरेका हुन् । राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको राप्रपाले फागुन ६ देखि ९ सम्म एकता महाधिवेशन गर्दैछ ।

महाधिवेशनको पूर्वसध्यामा थापासँगै पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षका दाबेदार थिए । तर, तत्कालीन राप्रपा नेपालका अध्यक्ष रहेका थापा हावी भएपछि राणा र लोहनी क्रमशः पछि हटे ।

थापाको नेतृत्वमा सर्वसम्मत सहमति जुटाउन सुनिलबहादुर थापासहितका दोस्रो तहका नेताहरु सक्रिय थिए । र, बुधबार साँझ भएको शीर्ष नेताहरुको बैठकमा कमल थापालाई अध्यक्ष बनाउने सहमति जुटेको छ ।

सहमति पत्रमा राणा र लोहनीसँगै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पनि हस्ताक्षर गरेका छन् । यससँगै अब राप्रपा महाधिवेशनमा केन्द्रीय सदस्यका लागि मात्र चुनाव हुनेछ ।

राप्रपामा अध्यक्षको नेतृत्वमा २४ जना पदाधिकारीको कार्यसमिति गठन गरिने छ, जसमा तीन उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायकमन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ता रहनेछ ।

तर, अध्यक्ष बाहेक अरू मनोनित हुने व्यवस्था छ । चार शीर्ष नेताहरुले पार्टीलाई देशको अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन महाधिवेशनलाई पारस्पारिक एकता, सद्भाव र सहमतिको आधारमा सम्पन्न गर्न सबैलाई आहृवान गरेका छन् ।

नेताहरुबीच पार्टीको विधानमा निति निर्धारण तथा निर्देशन समिति गठनको व्यवस्था गर्ने सहमति भएको छ । यसमा राणा, चन्द, लोहनीसहितका वरिष्ठ नेताहरु रहनेछन् ।