राप्रपाको महाधिवेशन माहोल (भिडियो रिपोर्ट) • Image Khabar Image Khabar


राप्रपाको महाधिवेशन माहोल (भिडियो रिपोर्ट)


Imagekhabar
६ फाल्गुन २०७३, शुक्रबार १७:०७

राप्रपाको महाधिवेशन माहोल (भिडियो रिपोर्ट)

राप्रपा र राप्रपा नेपालबीचको एकतापछि हुन लागेको पहिलो महाधिवेशनले लिने नीति र नेतृत्वलाई महत्वकासाथ हेरिएको छ । एकतापछि कार्यकर्ताहरु पनि उत्साहित बनेका छन् ।

महाधिवेशनमा भाग लिन आएका अधिकांश प्रतिनिधिहरु केही समयभित्रै राप्रपा राष्ट्रिय राजनीतिमा अझ बढी महत्व र प्रभावकासाथ उपस्थित हुने विश्वासमा छन् ।

७५ जिल्लाका प्रतिनिधिले पार्टीले लिने नीतिकोबारेमा चासो राखेका छन् र ठूला दलहरुप्रति जनतामा छाएको निराशाको फाइदा आफूहरुले लिनसक्ने ठानिरहेका छन् ।

राप्रपालाई कमल थापाले राम्रोसँग हाँक्न सक्छन् कि डा. प्रकाशचन्द्र लोहनीले भन्नेमा पनि कार्यकर्ताहरुबीच बहस भइरहेकै छ ।

एकताकोबेलामा रहेका सैद्धान्तिक अस्पष्टतालाई पनि यो महाधिवेशनले अन्त्य गर्ने कार्यकर्ताको अपेक्षा छ ।

पार्टी अध्यक्षबाहेक अन्य पदमा पनि आ—आफ्नो पक्षका नेताहरुलाई जिताउन प्रतिनिधिहरु प्रचार–प्रसारमा जुटिसकेका छन् ।

अर्कोतिर अब युवाहरुलाई पार्टी नेतृत्वमा स्थापित गर्नुपर्छ भन्ने मत पनि बलियो छ ।

राप्रपाका युवा नेता हिक्मतजंग कार्की पार्टीमा युवा नेतृत्वको उपस्थिति बलियो बनाउन उम्मेदवारी दिएको बताउँछन् ।

त्यसो त पार्टी एकीकरणपछि पनि हलो वा गाईमध्ये चुनाव चिन्ह के राख्ने भन्नेमा पनि अन्योल कायमै छ । थापा पक्षले चुनाव चिन्ह गाई र लोहनी पक्षले हलो राख्नुपर्नेमा जोड दिइरहेका छन् ।

महाधिवेशनले संवैधानिक राजतन्त्र र हिन्दूराज्यको पक्षमा आफूलाई उभ्याउने नेता–कार्यकर्ताको विश्वास छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

प्रतिक्रिया दिनुहोस्