१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने कार्यलाई तीव्रता दिइएको छ : निर्देशनालय


0
Shares

निर्देशनालयले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी पाइप बिच्छ्याउन सडक खन्नुपर्दा बढेको धुलोको व्यवस्थापनको काम पनि भइरहेको जनाएको छ ।

निर्देशनालयले पानी वितरण सञ्जाल सुधारअन्तर्गत् उपत्यकाका विभिन्न भागहरुमा बिच्छ्याउनुपर्ने ६ सय ७० किलोमिटर पाइपमध्ये हालसम्म ५ सय ३३ किलोमिटर पाइपलाइनको कार्य सम्पन्न भएको जनाएको छ ।

२०० किलोमिटर मुख्य सडकखन्डमध्ये ५० किलोमिटर सडक खन्न बाँकी रहेको पनि निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले उपत्यकाका अतिव्यस्त सडकहरुमा दिनमा काम गर्दा सर्वसाधारण तथा सवारी–साधनहरुको आवागमनमा असरपर्ने भएकाले रातको समयमा काम गर्ने व्यवस्था मिलाइएको बताए ।

उनले हाल उपत्यकाका ४० स्थानमा कार्य भइरहेको जानकारी गराए । धुलो कम गर्न अस्थायी पिच गर्ने कार्यलाई तीव्रता दिइएको पनि उनले बताए ।

मेलम्ची आयोजना निर्माणको ऋण एवं सहयोगी दाता एसियाली विकास बैंकका देशीय निर्देशक किनिची योकोयामाले वायु प्रदूषणको विषयमा ध्यानाकर्षण भएको बताए ।

उनले आगामी अक्टोबरसम्म मेलम्ची ल्याउने कार्यमा चुनौती देखिएपनि समयमा ल्याउने अठोट पनि व्यक्त गरे ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले उपत्यकामा बढेको प्रदूषणको विषयमा सरकार गम्भीर रहेको बताए ।

उनले सर्वसाधारण एवं सवारी–साधनलाई असर नपार्ने गरी निर्माणलाई तीव्रता दिन पनि आग्रह गरे ।