२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राप्रपाको महाधिवेशनअन्तर्गत आज बन्द सत्र, १ सय ६१ सदस्यीय कार्यसमिति चुन्ने


0
Shares

भृकुटीमण्डमा हुने बन्द सत्रमा नेता बुद्धिमान तामाङ संयोजकत्वको समितिले तयार पारेको विधान संशोधनको प्रस्ताव पेश गर्ने र प्रस्तावमाथि छलफल हुने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

फागुन ९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा चल्ने यस महाधिवेशनले अध्यक्षसहित नयाँ केन्द्रीय समिति चुन्ने छ ।

संशोधित विधानअनुसार महाधिवेशनले अध्यक्षसहित १ सय ६१ सदस्यीय कार्यसमिति चुन्ने छ । केन्द्रीय सदस्यको चुनाव गरी २४ सदस्यीय पदाधिकारी चयन गरिने छ ।

संशोधित विधानले अध्यक्षसहित २५ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको छ । पदाधिकारीमा उपाध्यक्ष ५, महामन्त्री ३, कोषाध्यक्ष एक, प्रवक्ता एक, सहमहामन्त्री ५, सहायक महामन्त्री ७ र सहायक प्रवक्ता २ जना रहने व्यवस्था गरिएको छ ।

१६१ सदस्यीय केन्द्रीय समितिमा ६० प्रतिशत संख्याको मात्र चुनाव हुने छ । ४० प्रतिशत केन्द्रीय सदस्य भने अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।

देशभरबाट चुनिएर आएका ३ हजार ३ सय १५ प्रतिनिधिले महाधिवेशनमा भाग लिएका छन् । पार्टीले राजसंस्थासहितको हिन्दू राष्ट्र र स्थानीय स्वायत्त शासनलाई मार्ग निर्देशक बनाएको छ ।

नेतृत्वका लागि कमल थापामा सर्वसम्मती कायम गरेको बताइए पनि थापा पक्षले सहमति पालना नगरेको भन्दै डा. प्रकाशचन्द्र लोहनीले पनि उम्मेदवारी दिने बताएका छन् ।

विधान संशोधन प्रस्तावमा ६५ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने, पार्टी अध्यक्षसहित ६५ प्रतिशत केन्द्रिय सदस्य चुनावबाट छानिने र बाँकीलाई अध्यक्षले मनोनयन गर्ने, र २ जना प्रवक्ता तोक्ने लगायत प्रस्ताव गरिएको छ ।

पहिलो सत्रमा विधान संशोधनबारे छलफल भएपछि अध्यक्ष थापाले पेश गरेको राजनीतिक र नेता प्रकाशचन्द्र लोहनीले पेश गरेको आर्थिक प्रतिवेदनमाथि छलफल सुरु हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।