
आयोगले शनिबार काठमाडौंको कान्तिपथस्थित कार्यालय परिसरमा कार्यक्रम गरी निर्वाचन दिवस मनाएको हो ।
निर्वाचन दिवस कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुख, कलाकार, सन्चारकर्मीलगायत आयोग पुगेका थिए ।
निर्वाचन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन अपरिहार्य रहेकोले यसका लागि तत्काल तयारी अघि बढाउन सरकार र आयोगलाई आग्रह गरिन् ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनसम्बन्धी आवश्यक विधेयक पारित भइसकेको र आयोगका रिक्त आयुक्तहरुसमेत नियुक्त गरिसकिएकाले चुनाव हुनेमा आशंका नगर्न सबैलाई आग्रह गरे ।
अहिलेको अवस्थामा चुनावको विकल्प नरहेको भन्दै उनले यसका लागि आवश्यक सबै तयारी अघि बढाउन आयोगलाई निर्देशन दिए ।
कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारको निर्देशनअनुसार आफूहरु चुनावको तयारीमा जुटेको बताए ।
नेपालको इतिहासमा पहिलोपटक संसदीय चुनाव भएको दिन तथा निर्वाचन आयोगले संवैधानिक हैसियत प्राप्त गरेको दिनको स्मरणमा आयोगले फागुन ७ गतेलाई निर्वाचन दिवसकोरुपमा मनाउन सुरु गरेको जनाएको छ ।
कार्यक्रममा निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्तहरु तथा आयोगमा २० वर्ष लामो सेवा पुर्याएका कर्मचारीलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले सम्मानपत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्