केही विपक्षी दलहरुले देशलाई टुक्र्याएर द्वन्द्व गर्न खोजेको आरोप लगाउँदै उनले नेपाली कांग्रेस त्यस्तो क्रियाकलापकाविरुद्धमा उत्रने चेतावनी दिए ।
नेपाली कांग्रेस क्षेत्र नम्बर–१ सिन्धुपाल्चोकले शनिबार खाडीचौरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि देउवाले सबै पार्टीसित सहमति गरी आगामी वर्षको माघभित्रमै तीनै तहको निर्वाचन गर्न जरुरी रहेको बताए ।
भूकम्पपछि बन्द भएको तातोपानी नाका सन्चालनका लागि नेपाली कांग्रेस अग्रसर रहेको र कुनैपनि हालतमा नाका खुलाएरै छोड्ने देउवाले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा देउवाले आगामी चुनावमा नेपाली कांग्रेसले पहिलो स्थान हासिल गर्ने दाबी गरे ।
त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले हिमालदेखि तराईसम्मका नेपाली एक–अर्काको दुष्मन हुन नसक्ने र भौगोलिक हिसाबले तीनै ठाउँका जनतालाई एकै किसिमले हेर्नुपर्ने बताए ।
उनले नेपाल र मित्रराष्ट्र चीनबीच सीमा जोडिएको तातोपानी नाका हालसम्म नखुल्नाले देशले अर्बौंको राजस्व घाटा व्यहोर्नुपरेको बताए ।
आर्थिक विकासका लागि तातोपानी नाका खोल्न जरुरी रहेको बताउँदै मन्त्री लेखकले सिन्धुपाल्चोक जिल्लाका सडकका परियोजना प्रतिवेदन (डीपीआर) आफ्नो मन्त्रालयअन्तर्गत् पर्ने भएकाले जिल्लाभरि नै करोडौं करोड रकम यही आर्थिक वर्षभित्र पठाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ का सांसद तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले स्थानीयको समस्या र मागलाई सम्बोधन गरी अगाडि बढाउन नेपाली कांग्रेस सदैव जनताका साथमा रहने बताए ।
बस्नेतले १५ वर्षभित्र सिन्धुपाल्चोक जिल्लाका हरेक सडकहरु कालोपत्र गर्ने तथा हरेक घरमा खानेपानीको धारा पुर्याउने र हरेक ठाउँमा फलामे बिजुलीको पोल गाड्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेता ज्ञानेन्द्रबहादुर कार्की, बहादुरसिंह लामा, सरिता प्रसाइँ, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, जिल्ला सभापति विकास लामालगायतले सम्बोधन गरेका थिए ।
कांग्रेस क्षेत्र नम्बर–१ का सभापति बालकृष्ण बस्नेतको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र बाट ५०० भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । रासस









प्रतिक्रिया दिनुहोस्