२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चैनपुरे करुवाको प्रख्याती र अस्तित्व हराउँदै (भिडियो हेर्नुहोस)


0
Shares

-कविराज घिमिरे,ईमेज

एक शताब्दी अघिदेखि ख्याति कमाउँदै आएको चैनपुरे करुवाको शान यतिबेला भने अस्ताउँदो अवस्थामा पुगेको छ ।

काठमाडौं नागवहालबाट करिव डेढ शताव्दी पहिले केहि शाक्य परिवार संखुवासभाको चैनपुर पुगे संगै चैनपुरमा करुवाको उत्पादन सुरु भएको थियो ।

परम्परागत शैली र सीपको प्रयोग गरी काँसको धातुवाट वनाईने यो करुवाको प्रयोग सामान्यतया पानी पिउनका लागि मात्र प्रयोग हुने गरेको थियो ।

तर कलात्मक शैलीमा निर्माण गरिएको यहाँको करुवा पानी पीउनका लागि मात्र प्रयोग नभई घरमा सजावटको लागि पनि प्रयोग हुन थाल्यो र माग उच्च हुँदा लोकप्रियता समेत उत्तिकै हासिल गर्‍यो ।

तर पछिल्लो समय कामदार संगै कच्चा पदार्थ आधुनिक प्रबिधि अभावका कारण यो करुवा संकटमा पर्न थालेको स्थानीय ब्यवसायी देबेन्द्र शाक्य बताउँछन् ।

दुई दशक अघिसम्म तीन दर्जन भन्दा बढि करुवा उत्पादक रहेको चैनपर क्षेत्रमा कामदार र कच्चा पदार्थ अभावका कारण हाल भने आधा दर्जनमा सिमित भएका छन् ।

माग अनुसारको उत्पादन गर्न नसक्दा माग धान्ननै मुस्कील हुने गरेको स्थानीय ब्यवसायी उत्तरा शाक्य बताउँछन् ।

चैनपुरे करुवा मुलुकमा चलेको दश वर्षे द्वन्द्व तथा पछिल्लो पुस्ताले वास्ता नगर्दा थलिएको हो । करुवा उत्पादनका लागि सखुवाको काठको गोल चाहिन्छ तर द्वन्द्व ताका त्यो उत्पादन संभव भएन ।

त्यसैमाथि गोल उत्पादनका लागि विभिन्न सामुदायिक वनहरुबाट गर्नुपर्ने झन्झटिलो प्रकृयाका कारण पनि यो थप समस्यामा परेको हो ।

त्यस्तै कालीगढ अभाव अदक्ष कामदारको रुपमा प्रयोग हुने सामान्य जनशक्ति अभावका कारण समस्या थपिएको हो ।

चैनपुरे करुवालाई पहिलेकै अबस्थामा फर्काउन कच्चा पदार्थको सहजता, प्रबिधि र सिपको बिकास गर्न तर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीय ब्यवसायी पदम कुमार शाक्य बताउँछन् ।

पछिल्लो समय आधुनिक प्रबिधिवाट एकै पटकमा हजारौं करुवा निर्माण हुने प्रबिधि भित्रिए पनि हातबाट वनाईने चैनपुरे करुवामा जस्तो सृजना अनि सीप समेटिएको हुँदैन ।

त्यसैले त आजसम्म पनि स्थानीय करुवाको माग उत्तिकै छ । काँसको धातुबाट वनाईने आकर्षक चैनपुरे करुवा हराउँदा करुवा मात्र होइन, चैनपुरको पहिचानसहित करुवा संग जोडिएका धरै ब्यक्तिको आम्दानीको स्रोत समेत गुम्ने निश्चित छ ।