
खोटाङ, असार २२ । केपिलासगढी गाउँपालिका–३, बास्पानीका २८ वर्षीय मिर्गौला सम्बन्धि रोगबाट पीडित सुरेश दर्जीले पुनर्जन्म पाएका छन् ।
डेढ वर्ष अघिदेखि मिर्गौला रोगले पीडित भएर थलिएका सुरेशलाई बिहीबार उनकी ६४ वर्षीया आमा धनकुमारी दमाईले आफ्नो मिर्गौला उपलब्ध गराएर गरिएको मिर्गौला प्रत्यारोपण सफल भएपछि सुरेशले पुनर्जन्म पाएका हुन् ।
भक्तपुरस्थित अंग प्रत्यारोपण केन्द्रका डा पुकार श्रेष्ठलगायत स्वास्थ्यकर्मीको टोलीले सुरेशको सफल मिर्गौला प्रत्यारोपण गरेको प्रदेशसभा सदस्य राजन राईले बताए । ‘कमजोर आर्थिक अवस्थाका सुरेश दर्जीले बिहीबारदेखि पुनर्जन्म पाएका छन्,’ उनले भने, ‘यसमा विशेष धन्यवादका पात्र डा पुकार श्रेष्ठलगायत उहाँको टोली रहेको छ ।’
सुरेश दर्जीलगायत उनका परिवार प्रदेशसभा सदस्य राईको पारिवारिक सदस्यजस्तै भएर गाउँमा बस्दै आएका छन् । उनीहरु एक आपसका सहयोगी हुन् ।
सानै उमेरमा बुबाले छाडेपछि प्रदेशसभा सदस्य राईको शरणमा रहेका सुरेश र उनकी आमाको स्वास्थ्य अवस्था मिर्गौला प्रत्यारोपणपछि पनि ठीक रहेको डा श्रेष्ठले बताए । ‘उनीहरु दुवैको अवस्था अहिलेसम्म ठीक छ,’ उनले भने, ‘उनीहरुको घाउ ठीक हुनासाथ घर पठाइनेछ ।’
मिर्गौला रोगी सुरेशको उपचारमा अहिलेसम्म करीब रु सात लाख खर्च भएको प्रदेशसभा सदस्य राईले बताए । ‘सुरेशको उपचारमा हामीले कसैसँग सहयोग मागेनौँ,’ उनले भने, ‘परिवारका सदस्य तथा केही इच्छुक दाताले स्वतःस्फूर्त सहयोग गर्नुभएको छ । उहाँहरु सबैलाई हार्दिक धन्यवाद ।’
सुरेशका बुबा टेकबहादुर दमाई अहिलेसम्म सम्पर्कविहीन रहेको स्थानीयवासीले बताएका छन् । सुरेशका दाजु दिलबहादुर दमाई फरक क्षमताका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस्