२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राप्रपा अध्यक्षमा कमल थापा विजयी, भने–‘गुटबन्दी अन्त्य गर्छु’


0
Shares

एकता महाधिवेशनअन्तर्गत् सोमबार भएको मतदान प्रक्रियामा थापाले दुई हजार ८०४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले २५१ मत प्राप्त गरे ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठकाअनुसार कुल तीन हजार १३६ मत सदर तथा ८१ मत बदर भएको छ ।

अध्यक्षमा निर्वाचित भएसँगै थापाले कार्यकर्ताको भावनालाई सम्मान गर्दै गुटबन्दीलाई अन्त्य गर्ने बताए ।

कार्यकर्तालाई अन्याय हुन नदिने बताउँदै अध्यक्ष थापाले आगामी दिनमा पार्टीलाई एकताबद्ध गरी राष्ट्रिय राजनीतिमा पार्टीले मुख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मंगलबार केन्द्रीय सदस्यका लागि निर्वाचन गरिनेछ ।

पार्टीको विधानअनुसार १६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत (९८ पद)का लागि हुन लागेको निर्वाचनमा ३६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।

महिलातर्फ ३३ सिट रहेका छन्, जसमा खुल्ला १६ तथा आरक्षणमा १७ छन् ।

आरक्षणतर्फ मधेसी समुदायबाट पाँच, आदिवासी जनजाति ६, उत्पीडित दुई, मुसलमान एक, कर्णाली र पिछडिएको क्षेत्र दुई, थारु समुदायबाट एकजना निर्वाचित हुनेछन् ।

पुरुषतर्फ ६५ सिट कायम गरिएको छ, जसमा खुल्ला ४० तथा आरक्षणमा २५ सिट छन् ।

आरक्षणतर्फ मधेसी सात, आदिवासी जनजाति ९, उत्पीडित दुई, मुसलमान दुई, कर्णाली र पिछडिएको क्षेत्र दुई, थारु एक र प्रवासबाट दुईजना निर्वाचित हुनेछन् ।

महाधिवेशनपछि ४० प्रतिशत मनोनयन गरिने र २७ सदस्यीय पदाधिकारी चयन गरिनेछ । रासस