अस्तव्यस्त शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज • Image Khabar Image Khabar


अस्तव्यस्त शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज


Imagekhabar
१० फाल्गुन २०७३, मंगलवार ०८:२७

अस्तव्यस्त शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज

-रामचन्द्र न्यौपाने

बढ्दै चोरी तस्करी

पछिल्लो समयमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज चोरी तस्करीको ‘हव’ बन्न थालेको छ । दिन प्रतिदिन दुर्लभ जडीबुटी तस्करी तथा वन्यजन्तु चोरी सिकारी बढ्दोक्रममा रहेको छ ।

एक वर्ष अवधिमा मात्रै विश्वकै दुर्लभ वन्यजन्तु हिउँ चितुवा, कस्तुरी मृग, नावर, घोरललगायतका वन्यजन्तु धमाधम पासोमा परेर मृत फेला पर्न थालेको निकुञ्ज कार्यालयले जनाएको छ ।

श्रृङ्खलाबद्ध रुपमा घटिरहेका घटनाले निकुञ्जको अस्तित्व समेत गुम्ने खतरा बढेको छ । यस्ता आपराधिक क्रियाकलापले निकुञ्ज सुरक्षार्थ स्थापित निकुञ्ज कार्यालय तथा सेनालाई समेत चुनौती भएको छ ।

समुद्री सतहबाट २,२५० देखि ६,८८३ मिटर उचाईमा पर्ने उक्त निकुञ्ज विश्वमै हिउँ चितुवाको धेरै घनत्व भएको निकुञ्ज समेत हो ।

निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीका अनुसार आजभोलि तस्कर समेत आधुनिक बन्न थालेका छन् ।

उनी भन्छन्, “पहिला पहिला नाइलनका पासो थाप्ने तस्करले अहिले अत्याधुनिक प्रकृतिका फलामे पासो थाप्ने गरेको पाइएको छ ।” “यसले गर्दा दुर्लभ वन्यजन्तु दिनप्रतिदिन धरापमा परेर सिकार भइरहेका छन्” उनले थपे ।

हिउँदको समयमा धेरै तस्करी

दुर्लभ वन्यजन्तुको चोरी तस्करी हिउँदको समयमा धेरै हुने गरेको पाइएको छ । हिउँदे मौसमसँगै कात्तिक महिनादेखि बढ्ने अत्यधिक चिसोले छ महिना उत्तरी क्षेत्र निर्जन हुन्छ ।

सम्पूर्ण स्थानीयबासी जाडो कटाउन पशु चौपायासहित बेँसी झर्दछन् । निकुञ्ज सुरक्षार्थ बसेको सुम्दो, तोइजुम पोस्टसमेत मुख्य कार्यालय सुलिगाडमा गाभिन्छन् ।

त्यसो त त्यस समयमा मान्छेको चहलपहल समेत शून्य हुने भएकाले पनि चोरी तस्करीको क्रम बढ्ने स्थानीयको भनाइ छ ।

बढ्दो क्रममा रहेको आपराधिक क्रियाकलाप कम गर्दै जैविक विविधताको संरक्षण गर्न जाडो समयमा समेत आलोपालो गरेर भए पनि निकुञ्जले सेना खटाउनुपर्ने स्थानीयको माग छ ।

उक्त समयमा पनि सेनाको आवागमन भइरहे तस्कर चलखेल गर्न नपाउने भएकाले चोरी सिकारी समेत घट्ने उनीहरुको दाबी छ ।

“ताल अवलोकन गर्ने भन्दै निकुञ्जको अनुमति बिनानै सिधै हेलिकोप्टर निकुञ्जको मुख्य भूभागमा बसाल्ने गर्दछन् ।

यस्तो कार्यले वन्यजन्तु तथा जडीबुटीसमेत तस्करी हुनसक्ने खतरा बढेको छ” फोक्सुन्डो गाविसका स्थानीय तेन्जिन लामाले भने ।

“हाम्रो त धर्मको सारनै हत्या हिंसा नगर्नु हो, घर वरपर नावर, घोरल कस्तुरीको बथान आउँछ, तर हामी उनीहरुको कुभलो गर्दैनौँ, विशेषतः तल्लो डोल्पाका मान्छेबाट यस्ता घटना बढी घट्ने गरेको पाइएको छ”,उनले थपे ।

अत्याधुनिक पासोको प्रयोग

यहाँका दुर्लभ वन्यजन्तु सिकारका लागि तस्करले अत्याधुनिक पासोको प्रयोग गर्ने गरेको पाइएको छ ।

यसरी वन्यजन्तुलाई थापिने धरापमा मोटरसाइकल तथा साइकलको ब्रेकमा प्रयोग गरिएको फलामे तार पाइएको निकुञ्ज संरक्षण अधिकृत चौधरीले बताए ।

कोर एरिया बाहिर निकुञ्ज कार्यालय

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जकोे मुख्य कार्यालय कोर एरिया (मुख्य क्षेत्र) बाहिर छन् । सेनाको गुल्म कोर एरियामा स्थापित छ । तर पनि निकुञ्जको तल्लो दक्षिणी सिमानामा यी कार्यालय रहेका छन् ।

संरक्षित वन्यजन्तु, जडीबुटी तथा प्राकृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदा दूरीको हिसाबमा निकुञ्ज र सेनादेखि टाढा पर्दछन् । यस्तो बाध्यताले पनि विविधताको संरक्षण सोचेअनुरुप गर्न नसकिएको निकुञ्ज कार्यालयको भनाइ छ ।

द्वन्द्वकालमा निकुञ्जको मुख्य कार्यालय फोक्सुन्डो गाविसको ‘पलम’मा थियो । कार्यालय सञ्चालनका लागि चारवटा आधुनिक भवन बनाइएका थिए ।

निकुञ्जको मुख्य कार्यालयनै मध्यबिन्दुमा पर्ने भएपछि निकुञ्जको सुरक्षा व्यवस्था कडाइ गर्न सहज भएको थियो । हत्तपत्त तस्करको निसाना पनि पर्न सक्दैनथ्यो ।

जैविक विविधता संरक्षणमा प्रभावकारी कामकाज भएको थियो । तर द्वन्द्वकालमा माओवादीले कार्यालय भत्काइ दिएपछि तीन वर्ष विस्थापित अवस्थामा निकुञ्जको कामकाज भयो ।

त्यसपछि मुख्य कार्यालयनै सुलिगाडमा स¥यो, संरक्षण अधिकृत चौधरीले स्मरण गर्नुभयो । सुलिगाडमा निकुञ्जको मुख्य कार्यालय तथा सेनाको गुल्म छ ।

निकुञ्जको सबै भूभाग उत्तरी क्षेत्रमा पर्ने र मुख्य कार्यालयनै कोर एरिया बाहिर पर्ने भएकाले सुरक्षा व्यवस्थामा चुनौती खडा भएको छ, चौधरीले भने ।

निकुञ्जको सुरक्षार्थ खटिएको मुख्य कार्यालयनै संरक्षण क्षेत्र बाहिर हुनु राम्रो कुरा होइन, उनले थपे । पटकपटक पुरानै स्थानमा सेना र निकुञ्जको भवन पुनःनिर्माणको लागि टिप्पणी उठाएर विभागमा पठाइयो तर सुनुवाइ भएन, उनले गुनासो गरे ।

जिल्लाका मुख्य राजनीतिक दल तथा जिल्ला परिषद्मा समेत कार्यालय पुरानै ठाउँमा पुनःनिर्माण गरी निकुञ्जको सुरक्षा व्यवस्था थप चुस्तदुरुस्त बनाउन सहयोग गर्न पहल गरिए पनि कसैले चासो नदिएको उनको भनाइ छ ।

जबसम्म कार्यालय पुरानै ठाउँमा कार्यालय स्थापना गरिँदैन, तबसम्म निकुञ्ज सुरक्षामा चुनौती कायमै रहने उनले ठोकुवा गरे । सम्बन्धित निकायको चासो नहुँदा वार्डेन र सेना सुविधामुखी भएको कुरा उनले स्वीकार गरे ।

भूगोल ठुलो कर्मचारी कम

यस निकुञ्जको क्षेत्रफल ३५५५ वर्ग किमि रहेकोले भूगोल ठूलो छ । यो नेपालकै सबैभन्दा ठूलो निकुञ्ज हो । क्षेत्रफल ठूलो भएपनि कर्मचारीको पदपूर्ति दरबन्दीअनुसार हुन नसक्दा पनि संरक्षणमा चुनौती देखिएको निकुञ्जको भनाइ छ ।

निकुञ्जमा जम्मा ६७ जनाको दरबन्दी छ जसमा १८ जनाको मात्र पदपूर्ति भएको छ । बाँकी अधिकृत तीनमा एकजना, रेन्जर छ मा एकजना, सरदार दुईमा एकजना तथा गेमस्काउट २९ जनाको पद रिक्त रहेकाले कर्मचारीको अभाव भएकोे छ । जनशक्ति अभावमा निकुञ्जमा लक्ष्यअनुरुप काम गर्न नसकिएको निकुञ्जको भनाइ छ ।

अव्यवस्थित यार्सा सङ्कलनले अस्तित्व गुम्ने

प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा मानिसहरु निकुञ्ज क्षेत्रमा प्रवेश गर्ने भएकाले पनि पछिल्लो समयमा आपराधिक क्रियाकलाप बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ ।

डोल्पालीको आर्यआर्जनसँग जोडिएको यार्सागुम्बा सङ्कलनकर्ताको विभिन्न क्रियाकलापले अस्तित्व खतरामा परेको कार्यालयको भनाइ छ ।

जबसम्म यार्सागुम्बा सङ्कलन कम हुँदैन तबसम्म आपराधिक चलखेल बढ्ने निकुञ्जको दाबी छ । अर्को कारण निकुञ्जभित्रको मानव आवासका कारण पनि संरक्षण सम्वद्र्धनमा कठिनाइ भएको कार्यालयको भनाइ छ ।

सूचनापाटी नहुँदा अन्योलमा पर्यटक

निकुञ्जसम्म पुग्ने बाटो तथा पुल जीर्ण भएकाले पर्यटकलाई सास्ती हुने गरेको छ । प्रत्येक वर्ष निकुञ्जमा करोडौँ बजेट आउने गरेता पनि संरचना भने पुरानै छन् ।

बाटोमा विभिन्न स्थानको सूचना दिने सूचनापाटी नहुँदा पर्यटकसमेत अन्योलमा पर्ने गरेको फोक्सुन्डो पुगेका मानव अधिकारवादी टङ्क खनालले बताए ।

यस निकुञ्जको अस्तव्यस्तता हेर्दा सुन्दर प्रकृतिको अपमान भएजस्तो लाग्छ, खनालले भने । निकुञ्ज भने बारम्बार ठाउँ ठाउँमा सूचनापाटी राख्ने गरेता पनि यार्सागुम्बा सङ्कलन गर्न गएका सर्वसाधारणले काटेर दाउराको रुपमा प्रयोग गर्ने भन्दै पन्छिएको छ ।

शे–फोक्सुन्डो ताल, सुलिगाड झरना, शे गुम्बा, त्रिपुरासुन्दरी मन्दिर यस जिल्लाका मुख्य आकर्षण हुन् भने हिउँ चितुवा, हिमाली भालु, कस्तुरी, नावर दुर्लभ संरक्षित वन्यजन्तु हुन् । यार्सागुम्बा, जटामसी, पाँचऔँले यहाँका बहुमूल्य जडीबुटी हुन् । रासस

 

प्रतिक्रिया दिनुहोस्