मंगलबार गरिएको मौद्रिकनीतिको अर्धवार्षिक समीक्षामा निजी सवारीको अटोमा जाने कर्जामा मूल्यको ५० प्रतिशतसम्ममात्र बैंकहरुले लगानी गर्न पाउने व्यवस्था गरिएको हो ।
केन्द्रीय बैंकले बैंकहरुले जथाभावीरुपमा निजी अटो लोन दिएको र त्यसले पनि लगानीयोग्य रकममा समस्या देखिएको भन्दै कडाइ गरेको हो ।
सार्वजनिक सवारी–साधन र भौतिक पूर्वाधारमा प्रयोग हुने अटो लोनमा भने यो सीमा लागू नहुने गभर्नर डा. चिरञ्जीवी नेपाल प्रस्ट पारे ।
केन्द्रीय बैंकले कल डिपोजिटको ब्याजदर सामान्य बचत खाताको ब्याजदरभन्दा बढी दिन नपाउने व्यवस्था गरेको छ ।
कल डिपोजिटको ब्याजदर सामान्य बचतसरह बनाउनुपर्ने व्यवस्था बैंकले गरेको हो ।
बैंकहरुले बचत खाता, चालु खाता, मुद्दती खाता र कल डिपोजिटमा ब्याज दिँदै आएका छन् । यस्तै, ओभर ड्राफ्ट सीमालाई पनि ७५ लाख रुपैयाँमा झारिएको छ । यसअघि, व्यक्तिगत कर्जा सुविधाको सीमा १ करोड रुपैयाँ थियो ।
गभर्नर नेपालले बैंक तथा वित्तिय संस्थाको पुँजीवृद्धि योजनाले बैंकिङ प्रणालीमा समस्या नआएको जिकिर गरे ।
एक वर्षको अवधिमा हकप्रद र पुनः प्राथमिक सेयर निष्कासन (एफपीओ) मा १४ अर्बमात्रै गएको भन्दै उनले ‘पुँजीवृद्धि योजनाले बैंकमा तरलता समस्या भयो भन्नु हौवा फैलाउनुमात्र रहेको’ बताए ।
नेपाल बैंकर्स संघले मौद्रिकनीतिको समीक्षापछि वित्तीय क्षेत्रलाई सवल बनाउन सफल हुने जनाएको छ । संघका अध्यक्ष अनिल शाहले समीक्षामा लिइएको नीतिको स्वागत गरे ।
केन्द्रीय बैंकले फागुन मसान्तसम्म दैनिक २५ किलोग्राम र त्यसपछि दैनिक २० किलोग्राम सुन आयात गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्