२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पत्रकार महासंघ केन्द्रीय कार्यालयमा फेरि तालाबन्दी, दुई पत्रकार अनसनमा


0
Shares

महासंघका पाँचथर सभापति लवदेब ढुंगाना र इलामका सदस्य प्रेम अधिकारीले बुधबार विहान देखि केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आमरण अनशन सुरु गरेका हुन् ।

पछिल्ला दिनहरुमा पत्रकार महासंघमा चरम राजनीतिकरण बढेको र सदस्यता वितरणमा मनमरी हुन थालेको भन्दै चार बुदे माग राखेर उनीहरुले केन्द्रीय कार्यालयको मुलढोकामा तालाबन्दी गरी कार्यालयकै परिसरमा अनसन सुरु गरेको बताए ।

उनीहरुले राजनैतिक भागबन्डाका आधारमा सदस्यता वितरण रोक्न, जिल्ला शाखा र प्रतिष्ठान शाखाको अधिवेशन तत्काल रोक्न, विधानविपरित बाहिरबाट ल्याइएका नयाँ सदस्यता र नविकरण कार्य फिर्ता गरी विधान बमोजिम नयाँ सदस्यता, नविकरण र स्थानान्तरणको अन्तिम टुङ्गो लगाएपछि मात्र अधिवेशन ६ महिना अघि तोक्न माग गरेका छन् ।

विधानविपरित र धाँधलीपूर्ण तरिकाले एकलौटी संचालन गरिएका इलाम र ताप्लेजुङका जिल्ला अधिवेशन खारेजी गरी प्रतिनिधिहरुलाई समेत कारबाहीको माग गरिएको छ ।

लामो समयदेखि पत्रकारितामा निस्क्रिय रहेका, राजनीतिक कार्यकर्ता, सरकारी कर्मचारी र अन्य पेशामा संलग्न महासंघका साधारण सदस्यहरुको शुद्धिकरण अभियान तत्काल सुरु गर्न पनि अनसनकारीले माग गरेका छन् ।

यसअघि पनि नेपाल प्रेस युनियनले केन्द्रीय कार्यालयमा तालाबन्दी गरी तीनदिन पछि सहमतिमा खुलाइएको थियो ।

यता महासंघका इलाम, ताप्लेजुङ, दोलखा लगायतका जिल्लामा अझै तालाबन्दी कायमै छ । इलाममा भने समानान्तर समिति नै बनिसकेको छ ।