महाशिवरात्रिः पशुपति दर्शनमा विशेष पास र हजार रुपैयाँको टिकटको व्यवस्था हटाइयो • Image Khabar Image Khabar


महाशिवरात्रिः पशुपति दर्शनमा विशेष पास र हजार रुपैयाँको टिकटको व्यवस्था हटाइयो


Imagekhabar
११ फाल्गुन २०७३, बुधबार १७:२०

महाशिवरात्रिः पशुपति दर्शनमा विशेष पास र हजार रुपैयाँको टिकटको व्यवस्था हटाइयो

कोषले बुधबार राधजानीमा पत्रकार सम्मेलन गरी हजार रुपैयाँको टिकट र विशेष पासको व्यवस्था हटाइएको जनाएको हो ।

कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले टिकट र विशेष पासले भगवानको दर्शनमा विभेद गरिएको आभास भएको भन्दै त्यस्तो व्यवस्था खारेज गरिएको बताए ।

यसैगरी, यसपटक महाशिवरात्रिमा विशेष पूजाको व्यवस्था पनि स्थगित गरिएको छ भने साधु–सन्तहरुलाई गाँजा तथा भाङ दर्शनार्थीहरुलाई बिक्री–वितरण गर्न पनि रोक लगाइएको छ ।

पत्रकार सम्मेलनमा यही फागुन १३ गते पर्ने महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको जानकारीसमेत दिइयो ।

उक्त दिन पशुपतिनाथ मन्दिरको उत्तर, पश्चिम र दक्षिणढोका बिहान साढे तीन बजेदेखि नै खुला रहनेछन् ।

महाशिवरात्रीको अघिल्लो दिनदेखि पशुपतिनाथ क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त विशेष सुरक्षा व्यवस्था मिलाइएको जानकारी पनि कोषले दिएको छ ।

दर्शनमार्ग, मेला क्षेत्र र दर्शनार्थीहरुको सुरक्षाका लागि भकुन्डोलस्थित कारपार्कमा सन्चार सेटसहितको प्रहरी मूल शिविर स्थापना गरिने र आवास–भोजनस्थल, पार्किङ, जुत्ता–चप्पलकक्षलगायतका स्थानमा नेपाल प्रहरीको सब कमान्ड पोस्ट स्थापना गरिने बताइएको छ ।

यस्तै डाक्टर, नर्स र एम्बुलेन्सको सुविधासहितको स्वास्थ्य शिविरहरु सन्चालन हुने, निःशुल्क भोजनका लागि तीलगंगा, चार शिवालय दक्षिण, भन्डारखाल तथा सिफल चौरमा व्यवस्था गरिएको पनि जनाइएको छ ।

यसपटक महाशिवरात्रिमा १३ लाख दर्शनार्थीहरु पाशुपत क्षेत्रमा पुग्ने र तीमध्ये आधाभन्दा बढीले मन्दिरमा दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषको रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्