३० असार २०८२, सोमबार | Tue Jul 15 2025


नेम्वाङले संसदमा भने–‘संशोधन विधेयक ९ दललाई मान्य हुँदैन’


0
Shares

                                                                                     फाइल फोटो
निर्वाचनमा मुलुक होमिनुपर्ने समयमा संविधान संशोधनको विषय औचित्यहीन भएको बताउँदै उनले ‘संविधान कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता रहेको छ’–भने ।

नेता नेम्वाङले संविधान संशोधन विधेयक सदनमा उपस्थित ९ दललाई मान्य नहुने जानकारी दिँदै प्रस्तुत् विधेयक संविधानविपरीत भएको बताए ।

उनले भने–‘संविधान संशोधन विधेयक प्रदेशको सीमांकन हेरफेर गर्ने प्रस्ताव संविधानको मर्म र भावनाविपरीत, सर्वोच्च अदालतको आदेशविपरीत तथा मधेस र त्यहाँका जनताको हितविपरीत भएकाले हामी त्यसलाई समर्थन गर्दैनौं ।’

निर्वाचनसम्बन्धी धेरै काम गर्न बाँकी रहेको वर्तमान अवस्थामा तीनै तहको निर्वाचन सम्पन्न गर्नेसम्बन्धी सम्पूर्ण कानुन बनाउनुपर्नेमा सदन त्यसतर्फ नलागी संविधान संशोधनतर्फ लागेको गुनासो गरे ।

त्यसअघि, बैठकमा राष्ट्रपतिले स्थानीय तह निर्वाचनसम्बन्धी विधेयक प्रमाणीकरण गरेको पत्र सभामुखले वाचन गरेर सुनाएकी थिइन् ।

त्यसैगरी, शून्य समयमा सांसद अनुराधा थापामगरले देशभरका सामुदायिक विद्यालयमा नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पुर्‍याउने व्यवस्था गर्न माग गरिन् ।

सांसद उमेशकुमार यादवले सगरमाथा अञ्चल अस्पतालको दुरावस्था अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराए । रासस