२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


सेना दिवसमा नेपाली सेनाले के–के गर्दैछ ? यस्तो छ सेनाको योगदान


0
Shares

                                                                                   फाइल फोटो
सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिकमञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिकारुपमा सहभागी हुनेछिन् ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसकारूपमा मनाउँदै आएको छ ।

सैनिकमञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम हुनेछन् ।

सेना दिवसको खुसियालीमा शुक्रबार साँझ सैनिकमञ्चमा सर्वसाधारणको मनोरन्जनका लागि सेनाले गीत–संगीत पनि प्रस्तुत् गर्नेछ ।

उक्त कार्यक्रममा सहभागी हुने जो–कोहीलाई पनि सहज र निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सैनिक मुख्यालय जंगीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमासमेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ ।

सेना दिवसकै उपलक्ष्यमा जंगीअड्डामा शनिबार साँझ साँस्कृतिक कार्यक्रमसहित विशेष समारोह आयोजना हुनेछ ।

सैनिक योगदान
नेपालको स्वतन्त्रता, भौगोलिक अखन्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखन्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।

नेपाली सेनाकै वीरताका कारण अंग्रेजको दबदबा रहेको अवस्थामासमेत दक्षिण एसियामा नेपालमात्र उपनिवेश हुनबाट जोगिएको थियो ।

वर्तमान सेनाको सांगठनिक स्वरूपको सुरुआत १८१९ सालदेखि भएको हो । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि सुरु भएकामा हालसम्म करिब एक लाख १५ हजार सैनिकबाट योगदान भइसकेको छ ।

विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ६३ जना सैनिकले जीवन बलिदान दिइसकेका छन् ।

संयुक्त राष्ट्रसंघमार्फत् विश्वमा खडा भएका १५ शान्ति स्थापना शिविरका लागि नेपाली सेनाका चार हजार ६ सयभन्दा बढी सैनिक अहिले परिचालित छन् ।

शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटिमा नेपाल छैटौं स्थानमा छ ।

सैनिक र हातहतियार उत्पादन र प्रयोगको दृष्टिले विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागिसमेत अहिले नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशालाको केन्द्र बन्दै गएको छ ।

विश्वका कुनैपनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाकारुपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ ।

पछिल्ला समयमा नेपाली सेनाले मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दाे छवि स्थापित गर्न सफल भएको छ ।

राष्ट्रिय सुरक्षा, महत्वपूर्ण संरचना र भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा, विकासनिर्माणको जिम्मेवारीसँगै नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने तथा मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्ने कार्यलाई नेपाली सेनाले प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।