२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


प्रि-मनसुन शुरु हुन अझै केही दिन लाग्ने


0
Shares

काठमाडौं । नेपालमा यस वर्षको प्रि–मनसुन शुरु हुन केही समय अझै लाग्ने भएको छ ।

पश्चिमी वायुको झोक्का अझै बाँकी रहेकाले प्रि–मनसुन शुरु हुन अझै केही दिन लाग्ने मौसमविद बरुण पौडेलले बताए ।

सामान्यतः नेपालमा मार्चबाट प्रि–मनसुन शुरु हुने गर्दछ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने र त्यसपछि भने मनसुनी वर्षात् हुने गर्दछ ।

यद्यपि, यस वर्ष पश्चिमी वायुकै कारण लामो समय वर्षा भएकाले प्रि–मनसुन पनि यसैसँग जोडिएझै देखिन लागेको छ ।

पश्चिमी वायुको प्रभावले अरु वर्षभन्दा बढी पानी परेको छ भने हिउँ र असिना पनि उत्तिकै मात्रामा परेको छ ।

अहिले नै देशका पहाडी क्षेत्रको मौसम बदली भइरहेकामा प्रि–मनसुन शुरु भएपछि देशको पहाडी क्षेत्रको मौसम बढी प्रभावित भइरहने जनाइएको छ ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाले भने आगामी तीन देशका विभिन्न स्थानमा मौसम बदली हुने जनाएको छ ।

मंगलवार फागुन २१ मा देशको पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भु–भागमा आंशिक बदली रहनेछ ।

अपराह्नपछि देशको पहाडी भागका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको जनाइएको छ ।

राति पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली हुने र अरु भागको मौसम सामान्यतया सफा रहनेछ ।

पूर्वी पहाडी भु–भागका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ ।

फाल्गुन २२ गते बुधवार र फाल्गुन २३ गते बिहिबार पनि दिउँसो देशको पहाडी भु–भागमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सामान्यतयाः सफा रहनेछ ।

राति पहाडी भु–भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।