
नेविसंघ सहितका विद्यार्थीहरुले स्ववियु चुनावको पूर्वसन्ध्यामा धेरैजसो क्याम्पसमा लगाएको ताला खुलाएर उम्मेदवारी दर्ताका लागि व्यवस्था मिलाउने सहमति त्रिवि पदाधिकारी र मूख्य विद्यार्थी संगठनका नेताहरुले गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयले फागुन १८ मै स्ववियु निर्वाचन गर्ने गरी तालिका मिलाई निर्वाचन सम्पन्न गराउन क्याम्पस निर्वाचन समितिलाई निर्देशन दिएको छ ।
जसअनुसार फागुन १४ र १५ का सबै कार्यक्रम १५ र १६ गते विहान साँढे १० बजेसम्म सम्पन्न गर्न त्रिविले सबै क्याम्पसलाई परिपत्र गरेको छ ।
अब उम्मेदवारी मनोनयन भोलि विहानसम्म गरिनेछ । त्रिवि पदाधिकारी र अरु संगठनसँगको छलफलपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले धेरैजसो क्याम्पसको ताला खोलेर आजै उम्मेदवारी मनोनयन हुने जानकारी दिए ।
नेविसंघमा अध्यक्ष महर र महासचिव कुन्दन काफ्ले समूहको अलगअलग उम्मेदवारी प्यानल खडा हुने भएपछि धेरैजसो कलेजमा तालाबन्दी गरिएको थियो ।
अनेरास्ववियुकी अध्यक्ष नविना लामाले क्याम्पस प्रशासनले ताला फोडेर भने पनि उम्मेदवारी मनोनयन गर्ने र फागुन १८ मै स्ववियु निर्वाचन गर्ने सहमति भएको बताइन् ।
२ नम्बरका धेरै कलेजमा मधेसी मोर्चानिकट विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् भने वैद्य र विप्लवनिकट माओवादीका विद्यार्थीले पनि कतिपय क्याम्पसमा तालाबन्दी गरेका छन् ।
विवादकै कारण काठमाडौंको आरआर कलेजमा विद्यार्थीबीच झडप हुनका साथै कलेजको स्टोरमा आगजनीसमेत गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, आंगिक र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका चार सय ५० भन्दा बढी क्याम्पसमा फागुन १८ मा स्ववियु निर्वाचन तय गरिएको छ ।
हरेक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन आठ वर्षपछि हुन लाग्दा पनि विद्यार्थी संगठनहरुबीच तीब्र विवाद निम्तिएको छ ।
प्रतिक्रिया दिनुहोस्