
यतिबेला जिल्लाका चोक चोकमा चुनावी चर्चा चुलिएको छ । तीनै प्रमुख दल कांग्रेस, एमाले, माओवादी केन्द्र बढीभन्दा बढी स्थानीय तह जित्ने अभियानमा जुटिसकेका छन् । जनताले आफ्ना एजेण्डामा विश्वास गर्ने र आफुहरुलाई नै जिताउने उनीहरुको विश्वास छ ।
चुनाव लक्षित अभियान थालिसकेको र जनताबाट सकारात्मक प्रतिक्रिया पाएको मोरङका नेताहरुको भनाइ छ ।
चुनावी अभियानमा होमिएका दलहरुले विशेष गरी मतदाता शिक्षा, कार्यकर्ता प्रशिक्षण, प्रचारप्रसार जस्ता कार्यक्रम संचालन गरिरहेका छन् । यस्तै उनीहरुले अर्को दलबाट कार्यकर्ता आफ्नो दलमा भित्र्याउन पनि लागिपरेका छन् ।
दलहरुबीच स्थानीय तहको संरचनाबारे पनि बहस जारी छ । ग्रामीण क्षेत्रका बजार, चौतारी, हाट, मेलापात सबैतिर चुनावी चर्चा र सम्भावित उम्मेद्वारबारे समेत छलफल भइरहेको छ ।
अर्कोतिर जनता पनि स्थानीय तहको चुनावपछि विकासले गति लिनेमा आशावादी छन् ।
जिल्लास्थित निर्वाचन आयोगको कार्यालयले फोटोसहितको मतदाता नामावली संकलन लगायतका कामलाई तिव्रता दिएको जनाएको छ । हाल ९ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ५ लाख ९२ हजार ९ सय ५२ नागरिकले मतदाता परिचयपत्र लिएका छन् । यो संख्या दोस्रो संविधानसभा निर्वाचनको भन्दा झन्डै ५३ हजारले बढी हो ।
जिल्लामा फागुन ९ गतेसम्ममा ५३ हजार ४ सय ३५ मतदाता थप भएको क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद संजेलले जानकारी दिए ।
लामो प्रतिक्षापछि हुन लागेको स्थानीय तहको निर्वाचन संघीयतालाई संस्थागत गर्ने बाटोमा महत्वपूर्ण कदम हुने विश्वास लिइएको छ । संविधानले स्थानीय तहमा बढी अधिकार प्रत्यायोजन गरेको छ । जसका कारण चुनावपछि स्थानीय तहले आफैं स्रोत साधनको परिचालन गर्न सक्ने भएकाले पनि विकासले पनि गति लिने आशा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्