२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


संशोधन विधेयकबारे छलफल गर्न सत्तारुढ दल र मोर्चाको बैठक बस्ने


0
Shares

नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चा आवद्ध दलका नेताहरुबीच छलफल हुन लागेको हो ।

संसदमा पेश गरिएको संशोधन विधेयकविरुद्ध सत्तारुढ दुई दल कांग्रेस र माओवादीकै सांसदहरु उभिएपछि अब के हुनेभन्ने अन्यौल बढेको छ ।

एमालेसहितका विपक्षी दल एक तिहाई मतसहित विपक्षमा उभिएका छन् भने सरकारमै रहेको राप्रपाले विधेयकमा समर्थन गर्न नसकिने भन्दै तत्कालका लागि स्थगन गर्न माग गरेको छ ।

यस्तोमा मधेसी दलका नेताहरुसँग सत्तारुढ दुई दलका नेताहरुले सम्भावित विकल्पबारे छलफल गर्न लागेका हुन् ।

यसअघि सोमबार पनि प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासमक्ष संशोधन विधेयकका बारेमा छलफल गरेका थिए ।

उनले विधेयक पारित हुने स्थिति नबन्दासम्म अगाडी नबढाउने बरु केही समय लिएरै भए पनि संशोधन प्रस्ताव पारित गराउन जुट्नुपर्ने प्रस्ताव मोर्चासमक्ष गरेका थिए ।

प्रधानमन्त्रीले स्थानीय चुनावमा भने सहभागी हुन मोर्चाका नेतालाई आग्रह गरेका थिए ।

तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सम्मिलित बैठकमा मोर्चाका नेताले प्रधानमन्त्रीको आग्रह स्वीकार्न नसकिने बताएका थिए ।

यथास्थितिमा संशोधनको पक्षमा दुई तिहाई नपुग्ने संकेत गर्दै प्रधानमन्त्रीले स्थगनको प्रस्ताव गरेको बताइएको छ ।

संशोधन विधेयकमाथि मधेसी मोर्चा र सत्तारुढ दलकै सांसदको समेत गरी १५ वटा संशोधन परेका छन् ।