नेवार महिलालाई जीवन्त राख्ने ‘इही’ परम्पराः रातो टिका, रातै कपडा • Image Khabar Image Khabar


नेवार महिलालाई जीवन्त राख्ने ‘इही’ परम्पराः रातो टिका, रातै कपडा


Imagekhabar
१७ फाल्गुन २०७३, मंगलवार १३:४५

नेवार महिलालाई जीवन्त राख्ने ‘इही’ परम्पराः रातो टिका, रातै कपडा

-लक्ष्मी गारु

तर पनि उनी रातो रङको किनारा भएको हाकु पटासी र रातो खास्टो ओढेर बस्छिन् । सुवाललाई विधुवा भएको कुनै महसुस छैन । समाजका अन्य महिलासरह उनी पनि र रातो टीकाप्रसाद लिने गर्छिन् ।

सानोमा इही (भगवान् विष्णुको प्रतीक बेलसँग विवाह) गरेकाले श्रीमान् बिते पनि रातो पहिरन लगाएको सुवालको भनाइ छ । उनी भन्छिन् “श्रीमान वितेपछि एक वर्षसम्म सेतो पहिरनमा बसेँँ । बर्खान्तपछि रातो लगाउन थालेको हुँ ।”

भक्तपुर कमलविनायककी ४९ वर्षीया छोरी अवालको पनि श्रीमान् बितेको दुई वर्ष भयो । उनी पनि अहिले अन्य महिला दिदीबहिनीसरह रातो टीका लगाउने गर्छिन्। अवाल भन्छिन्–“भगवानसँग दुई पटक विवाह गरेकाले श्रीमान विते पनि हामी रातै लुगा लगाउँछौँ ।”

सुवाल र अवाल मात्र होइन नेवार समुदायका श्रीमान् बितेको एक वर्षपछि आफूखुशी रातो रङका पोसाक र टीका पनि लगाउँछन् तर अन्य समुदायका महिलाजस्तो जीवनभर सादा पोसाक लगाउने र निधार खाली गरेर हिँड्दैन ।

हिन्दू संस्कार र मूल्यमान्यताअनुसार श्रीमानको मृत्युपछि महिलाले रङ्गहीन जीवन जिउनु पर्दछ ।

विशेषगरी श्रीमान् बितेका महिलाले आफू विधुवा भएको स्पष्ट झल्कने गरी रङ्विहीन पहिरन लगाउनुपर्ने र रातो टीका र सिन्दूर पोते छोड्नुपर्ने धार्मिक मान्यताका कारण अन्य समुदायका धेरै महिलाले सादा जीवन बिताइरहेका खेखिन्छ तर नेवार समुदायमा भने श्रीमान् बितेका महिलाले वर्खान्त पछि रङविहीन जीवन जिउनु पर्दैन ।

संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ भन्छन् “नेवार समुदायमा प्रचलित इही (बेल विवाह) र बारा तयेगु (गुफा राख्ने) प्रचलनका कारण महिलाले श्रीमान् बिते पनि रङविहीन जीवन जिउनु पर्दैन ।”

हिन्दू संस्कारमा रजस्वला नहुँदै छोरीको कन्यादान गर्न पाए जीवनकै सबैभन्दा ठूलो पुण्य मिल्ने वर्णन पाइन्छ ।

यसैका कारण समाजमा बालविवाह अझै पनि प्रचलनमा रहेको छ तर नेवार समुदायमा भने यो प्रचलन शताब्दीऔँ पहिले नै निर्मूल भइसकेको छ ।

उनका अनुसार आदिमकालदेखि नै नेवार समुदायले बालिकाको इही (बेल विवाह) गराएर उसलाई कहिल्यै नै विधुवा हुन नपर्ने संस्कारको विकास गरेको हो ।

उक्त समुदायका चेलीले इही गरेपछि सानो उमेरमै सिन्दूर–पोते लगाउने र श्रीमान्को देहान्त भएपछि पनि चुरा, टीका, रातो पहिरन लगाउन कुनै सङ्कोच मान्दैनन् ।

सानो उमेरमै बेल र भगवान् विष्णुसँग विवाह गर्दा सिन्दूर लगाउने परम्परा रहेकाले बेल र भगवान् विष्णुको अस्तित्व रहेसम्म इही गरेका महिलाले विधवा बन्नु नपर्ने संस्कार रहेको संस्कृतिविद् डा श्रेष्ठको भनाइ छ ।

कतिपय नेवार समुदायको विवाह संस्कारमा पनि सिन्दूर नै नलगाई श्रीमान्को घर जाने चलन यसैको परिणाम हो ।

इही हिन्दू र बौद्ध धर्मका अनुयायीहरुले आ–आफ्नै विधि र परम्पराअनुसार गर्ने गर्दछन् । नेवार समुदायमा इही रजस्वला नहुँदै गर्नु पर्ने धार्मिक मान्यता रहिआएको छ ।

इही गर्दा बालिकालाई देवीकोजस्तै वेशभूषामा सजाउने गरिन्छ । आ–आफ्नो गच्छेअनुसारको रातो पहेँलो रङको तासको चोलो र जामा, श्रीवन्दी, ङापु सिख, सुनका गुच्छा फूल र चुल्ठोमा चाँदीको माछा भएको सातिका लगाएर दुवै हातमा चाँदीको बाला र खुट्टामा चाँदीको कल्ली लगाई सिङ्गारेर यज्ञमा राखिन्छ ।

यज्ञमा गरिने विविध संस्कारपिछि घरको थकालीले इही गर्ने बालिकाको हातमा बेललाई सुम्पिएर कन्यादान गरिन्छ ।

कन्यादान गरिसकेपछि आ–आफ्नो नातेदार, दिदीबहिनीलगायतले वाकी जाकी (धान र चामल मिश्रण) दान दिने प्रचलन छ ।

इही गरेर घर फर्केका चेलीलाई घरको मूलढोकामा घरको थकाली महिलाले दही र सिन्दूरको टीका लगाई एकजोर लुगासहित पूजा गर्ने र साँचो समाउन दिएर घर भित्र्याइन्छ । जुन नेवार समुदायमा बुहारी भित्र्याउँदा गर्ने विधिसँग मिल्दोजुल्दो छ ।

केही वर्षअघिदेखि महिला अधिकारबादीले विधवा महिलाले पनि रातो लुगा र टिका तथा चुरा लगाउन पाउनुपर्ने, विधवालाई एकल महिला भन्नुपर्ने जस्ता अभियान चलाएपछि गायक बद्री पङ्गेनीले पनि यस्तै खालको गित सार्वजनिक गरे ।
‘लाउ चेली सिन्दूर लाउ, निको पार हृदयको घाउ
शिरैको सिउँदोमा सिन्दूर छैन, विचरीको बिहे पनि नभएको होइन,’

यस्तै अभियानले एकल महिलालाई रातो पहिरन लगाउन प्रोत्साहित गर्‍यो भने सामाजिक सञ्जालमा रातो टीका लगाउने अभियान चलेको छ ।

नेवार समुदायमा प्रचलित इही र गुफाजस्ता परम्परालाई अन्य समुदायले पनि अङ्गिकार गर्ने हो भने समाजमा प्रचलित बालविवाह मात्र होइन विधुवा महिलाको जीवनशैलीमा नै परिवर्तन आउने यहाँका बासिन्दा बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्