
काठमाडौं, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन सफल बनाउन देशवासीलाई आह्वान गरेका छन् ।
मंगलबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट देशवासीलाई सम्बोधन गर्दै उनले सरकार सबै प्रकारका चुनौतीलाई चिर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न प्रतिबद्ध रहेको बताए ।
एक करोड ४० लाख जनताले ३५ हजार बढी प्रतिनिधि छान्ने भएकाले सबैलाई गम्भीर भएर चुनावमा होमिन उनले आग्रह गरे ।
स्थानीय चुनावमा ४० प्रतिशत महिला सहभागी हुने भन्दै प्रधानमन्त्री दाहालले दलित प्रतिनिधि पनि हरेक वडामा हुने बताए ।
प्रधानमन्त्री दाहालले आफूले संविधान संशोधन र निर्वाचनलाई एकसाथ अघि बढाउन प्रयास गरेपनि सफल नभएको भन्दै मतपत्रमार्फत् आफ्ना असन्तुष्टि व्यक्त गर्न मधेसी मोर्चालाई आग्रह गरे ।
अब हुने स्थानीय चुनाव कुनै नियमित प्रक्रिया नभएको भन्दै उनले लोकतान्त्रिक गणतन्त्र र समावेशीतालाई संस्थागत गर्न चाहने सबैपक्ष यो प्रक्रियामा सहभागी हुनुपर्नेमा जोड दिए ।
संविधानलाई अधिकतम् स्वीकार्य बनाउन संशोधनमा सहमति जुटाउने प्रयासलाई जारी राखिने भन्दै प्रधानमन्त्री दाहालले आगामी माघ ७ गतेभित्र तीनओटै तहको निर्वाचन हुन नसके मुलुक संवैधानिक र राजनीतिक रिक्ततामा जानेप्रति सबै सतर्क हुनुपर्ने पनि बताए ।
विखन्डनकारीलाई परास्त गर्ने भन्दै उनले निर्वाचनका लागि सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताए ।
हिमाल, पहाड र तराई कसैको पनि अतिवादलाई स्वीकार गर्न नसकिने भन्दै प्रधानमन्त्री दाहालले अब ‘विनासका लागि होइन, विकासका लागि छलफलमा बस्न’ दलहरुलाई आह्वानसमेत गरे ।
प्रधानमन्त्री दाहालले राजस्व संकलन बढेको, लोडसेडिङ अन्त्यको प्रक्रिया थालनी भएसँगै मुलुक उज्यालो युगमा प्रवेश गरेको, फास्ट ट्रयाक, हुलाकीमार्ग र अन्य राष्ट्रिय गौरवका आयोजनाहरुको कामले गति लिएको भन्दै आर्थिक विकासका लागि सबै दल र समुदायको साझा प्रयास आवश्यक भएकोमा पनि जोड दिए ।
प्रतिक्रिया दिनुहोस्