२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


यस्तो छ राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी


0
Shares

काठमाडौं, फागुन २० । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो नयाँ प्रतीक चिह्न (लोगो) र राष्ट्रिय टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरेको छ ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपालका लागि केल्मीका आधिकारिक बिक्रेताका प्रतिनिधि प्रदीप न्यौपानेलगायतले प्रतीक चिह्न र जर्सी सार्वजनिक गरेका हुन् ।

पोखराका सन्दीप तिवारीले एन्फाको नयाँ लोगो तयार गरेका हुन् । ५७० प्रतिस्पर्धीलाई पछि बनाउँदै तिवारीको प्रतीक चिह्न उत्कृष्ट बनेको हो ।

कार्यक्रममा लोगो तयार गरेवापत एन्फाले तिवारीलाई रु ५० हजार पुरस्कार प्रदान गरेको छ ।

नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झन्डा राखिएको छ । पुछारमा फुटबलको चिह्न छ । फुटबलमा सात प्रदेशलाई प्रतिनिधित्व गर्ने घेरा राखिएको छ ।

एन्फाको लोगो दोस्रोपटक परिवर्तन भएको हो । यसअघि २०६२/६३ को जनआन्दोलनपछि परिवर्तन गरिएको थियो । त्यसबेला हाल रहेको लोगोको मध्य भागमा रहेको श्रीपेच हटाएर फुटबल राखिएको थियो ।

यस्तै, नेपाली राष्ट्रिय टोलीको नयाँ जर्सी एकै ढाँचाको रहेको छ ।

यसअघि, नेपाली टोलीले फरक–फरक कम्पनीका फरक–फरक ढाँचाको जर्सी प्रयोग गर्दै आइरहेको थियो । नयाँ जर्सी सधैंको झैं रातो र नीलो रङमा रहेको छ ।

जर्सीको अघिल्लो भागमा सगरमाथाको प्रतीक राखिएको छ ।

यसअघि रहँदै आएको जर्सीमा बायाँपट्टि राष्ट्रिय झन्डा रहेको थियो । अब उक्त स्थानमा एन्फाको लोगो हुनेछ । राष्ट्रिय झन्डा अब जर्सीको पछाडि हुनेछ ।

जर्सीको डिजाइन एन्फा आफैंले गरेको हो ।

एन्फाको नयाँ जर्सी चिनियाँ कम्पनी केल्मीले निर्माण गर्नेछ । एन्फाले केल्मीसँग दोस्रोपटक प्रायोजन सम्झौता गरिसकेको छ ।

यस्तै, एन्फाले फुटबल टोलीको गीत सार्वजनिक गरेको छ । गीत राष्ट्रिय धुनका रचनाकार ब्याकुल माइलले रचेका हुन् । गीतमा आनन्द कार्की, शिव परियार, इन्दिरा जोशीलगायतको स्वर रहेको छ ।

एन्फाले नयाँ लोगो र जर्सीका लागि गत साउनमा खुला छनोटका लागि विज्ञापन निकालेको थियो ।

सो अवसरमा सदस्यसचिव विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत १५ गतेदेखि सुरु हुने दाबी गरे ।

उनले भने–‘पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ । हामी चैत १५ गतेदेखि प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेका छौं । रासस