८ असार २०८१, शनिबार | Sat Jun 22 2024


निर्बाचन आरसंहिता लागू, कसले पालना गर्नुपर्छ आचारसंहिता ?


0
Shares

आयोगको मंगलबार बसेको पदाधिकारी बैठकले आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ जारी गरेको जनाएको हो ।

आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारको मन्त्री, स्थानीय निकाय र कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई आचारसंहिता लाग्नेछ ।

यसैगरी निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्था, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पनि आचारसंहिता लाग्नेछ ।

उम्मेदवारको हकमा मनोनयन दर्ता भएको मिति अर्थात आगामी वैशाख १६ देखि आचारसंहिता लागू हुने जनाइएको छ ।

आयोगले गृह मन्त्रालयबाट तयार पारिएको स्थानीय तहको निर्वाचन सुरक्षा योजनाबारे पनि छलफल गरेको जनाएको छ ।

गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले सुरक्षा योजना पेश गर्दै केन्द्र, क्षेत्र, जिल्लामा समेत सबै सुरक्षा निकायबीच समन्वय गरी जिम्मेवारी पूरा गरिने बताए ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहमा कार्यरत सुरक्षा संयन्त्रलाई साधन स्रोत सम्पन्न बनाउन, जिल्लास्तरमा प्रहरी प्रशासनलाई निर्वाचन आचारसंहिता पालना गराउन अविलम्ब निर्देशन पठाउन र स्थानीय तहको निर्वाचनमा महिला सहभागिता उत्साहजनक हुने भएकाले यसलाई समेत ध्यान दिई सुरक्षा योजना बनाउन निर्देशन दिएका थिए ।

कार्यक्रममा चारवटै सुरक्षा निकायका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेको आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।