काठमाडौं, फागुन २० । फिलिपिन्सको प्रहरीले राजधानी मनिलास्थित विमानस्थलमा टेपमा बेरिएका १५ सयओटाभन्दा बढी जीवित कछुवा फेलापारेका छन् ।
निनोइ अक्विनो अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा चारओटा बेवारिसे झोलामा विभिन्न प्रजातिका १५२९ ओटा कछुवाहरू फेलापरेको थियो ।
ती कछुवा बजारमा बिक्री गरिए करिब ८७ हजार अमेरिकी डलर पर्ने बताइएको छ ।
वन्यजन्तुको गैरकानुनी कारोबार गर्ने तस्करले कडा सजायको डरले ती कछुवा राखिएको झोला त्यतिकै छाडेर भागेको प्रहरीको विश्वास छ । यीमध्ये केही लोपोन्मुख प्रजातिकासमेत छन् ।
कछुवा ल्याउने पक्राउ परेको भए दुई वर्षको जेल सजाय र दुई लाख फिलिपिनो पेसो जरिवाना तिर्नुपर्ने हुन्थ्यो ।
ती कछुवाहरू हङकङबाट आएका एकजना फिलिपिनो यात्रीले छाडेर गएका भन्सार अधिकारीहरुले जनाएका छन् ।
फेलापरेका कछुवाहरूलाई फिलिपिन्सको वन्यजन्तु तस्करी निगरानी एकाइलाई हस्तान्तरण गरिएको छ ।
विभिन्न देशमा कछुवालाई घरमा पाल्ने गरिन्छ भने कतै–कतै परम्परागत औषधि बनाउन पनि यसको प्रयोग गर्ने गरिन्छ । (एजेन्सी)




प्रतिक्रिया दिनुहोस्