१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


हंगेरीले नेपालमा जलविद्युत् उत्पादनका लागि ११ अर्ब ऋण दिने


0
Shares

हंगेरीका विदेशमन्त्री पिटर सिजार्ताेले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँगको भेटकाक्रममा सो जानकारी दिएका हुन् ।

राष्ट्रसंघीय मानवअधिकार परिषद्को ३४औं सत्रमा सम्बोधनका लागि हाल जेनेभामा रहेका परराष्ट्रमन्त्री डा. महत र हंगेरीका विदेशमन्त्री सिजार्तोबीच मंगलबार द्विपक्षीय वार्ता भएको थियो ।

सो वार्ताकाक्रममा मन्त्री सिजार्ताेले हंगेरी सरकारले प्रत्येक वर्ष १० नेपाली विद्यार्थीलाई हंगेरीका विश्वविद्यालयमा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णयसमेत गरेको जानकारी दिए ।

उक्त भेटकाक्रममा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा कुराकानी भएको थियो ।

विदेशमन्त्री सिजार्ताेले नेपालले दिएको राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यको उम्मेदवारीको समर्थन गर्दै नेपाललाई भोट हाल्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

परराष्ट्रमन्त्री डा. महत उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् । उनले मंगलबार नै राष्ट्रसंघीय मानवअधिकार परिषद्को ३४औं सत्रलाई सम्बोधन गरेका थिए ।

बुधबार राष्ट्रसंघीय मानवअधिकार आयोगका उच्चायुक्तसँग भेटवार्ता गरी नेपालको मानवअधिकारको अवस्था तथा परिषद्मा नेपालको उम्मेदवारीकाबारेमा छलफल गर्नेछन् ।

नेपालले सन् २०१८ देखि सन् २०२० सम्मका लागि राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा उम्मेदवारी दिएको छ । रासस