एमालेले सुरु गर्न लागेको मेची–महाकाली अभियानबारे बुधबार काठमाडौंमा गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले पहाड र तराई छुट्याउने षड्यन्त्रबमोजिम सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाएको आरोप लगाए ।
त्यस्तो षड्यन्त्रलाई एमालेले कुनैपनि हालतमा सफल हुन नदिने उनको भनाइ थियो ।
संविधानमा सबैका अधिकार सुनिश्चित गरिएको र कसैमाथि भेदभाव नभएको भन्दै ओलीले ‘बरु सुशासनका लागि संशोधन आवश्यक छ’–भने ।
एमालेको मेची–महाकाली अभियानविरुद्ध गृहमन्त्री विमलेन्द्र निधिले दिएको अभिव्यक्तिको चर्को आलोचना गर्दै उनले अभियानमा कसैले अवरोध गरेमा त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने चेतावनी दिए ।
कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले मेची–काली अभियान राष्ट्रिय जागरण ल्याउने उद्देश्यले गर्न लागिएको बताए । कसैले भाँड्न खोजे चुप लागेर नबस्ने पोखरेलको चेतावनी थियो ।
त्यसक्रममा एमाले सचिव योगेश भट्टराईले फागुन २१ गते मेचीपुलबाट सुरु हुने अभियान १५ दिनपछि महेन्द्रनगरमा पुगेर समापन गरिने जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्