उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा विहीबारदेखि राजधानीमा सुरु भएको दुईदिने ‘नेपाल लगानी सम्मेलन’मा विशेष सम्बोधन गर्दै उनले भारतले आर्थिकरुपमा सबल नेपाल देख्न चाहेको बताए ।
नेपालमा रहेका प्राकृतिक स्रोतलाई परिचालन गरेर मुलुकको आर्थिक विकास गर्न सकिने बताउँदै जेट्लीले ऊर्जा, कृषि, पर्यटन र सिँचाइका क्षेत्रमा नेपालमा लगानीका लागि अवसर रहेको बताए ।
नेपाल र भारतले मिलेर ऊर्जा, प्रसारणलाइन, सिँचाइ क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा यसलाई थप विस्तार गरेर लैजानुपर्नेमा जोड दिए ।
जेट्लीले नेपाल र भारत संस्कृति तथा धार्मिक पर्यटनको क्षेत्रमा लगानीको सम्भावना रहेको पनि बताए ।
‘शैक्षिक, चिकित्सा र इन्जिनियरिङ क्षेत्रमा नेपाल र भारतका लगानीकर्ताबीच सहकार्य गरेर अगाडि बढ्न सकिन्छ’–उनले भने–‘हामी आगामी दिनमा लगानीका सम्भावित क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्छौं ।’
लगानीको अवसर सिर्जना गर्नका लागि उद्योगलाई सहजरुपमा भित्रिन र बाहिरसक्ने वातावरण बनाउनुपर्नेमा जेट्लीको जोड थियो ।
उनले लगानीका लागि नीतिगत अवस्थामा सुधार हुनुपर्ने र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । लगानी विस्तार गर्नका लागि राज्यले दूरगामी कर नीतिलाई ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
उनले ठूलो लगानीले मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै ‘पूर्वाधार विकासलाई अगाडि बढाएर लगानीलाई आकर्षित गर्न सकिन्छ’–भने ।
सम्मेलनमा भारत, चीन, (हङकङसमेत), बंगलादेश, श्रीलंका, सिंगापुर, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका दुई सय ५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सहभागी छन् ।
नेपालमा सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले पहिलोपटक वैदेशिक लगानी भित्र्याउन अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो । रासस









प्रतिक्रिया दिनुहोस्