२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


भारत विश्वकै सर्वाधिक मुस्लिम जनसंख्या भएको मुलुक बन्दै


0
Shares

अमेरिकामा आधारित प्यु रिसर्च सेन्टरको एक अध्ययन प्रतिवेदनअनुसार यही रफ्तारमा अघि बढ्ने हो भने विश्वमा सन् २०१० देखि २०५० को अवधिबीच मुस्लिमको जनसंख्या ७३ प्रतिशत बढ्ने छ ।

हाल सबैभन्दा ठूलो मुस्लिम जनसंख्या भएको मुलुक इन्डोनेसिया हो । भारत मुस्लिमको दोस्रो ठूलो जनसंख्या भएको मुलुक हो । तर सन् २०५० सम्ममा भारत मुस्लिमको सबैभन्दा ठूलो जनसंख्या भएको मुलुक बन्ने सो अध्ययन प्रतिवेदनको दाबी छ ।

त्यसैगरी क्रिश्चियनको जनसंख्या ३५ प्रतिशतसम्म र हिन्दूको जनसंख्या ३४ प्रतिशतसम्म बढ्ने अध्ययनले देखाएको छ ।

दि फ्युचर अफ वर्ल्ड रिलिजन शीर्षकको प्रतिवेदनमा भनिएको छ, ‘सन् २०५० सम्ममा विश्वको जनसंख्या ३५ प्रतिशतले बढ्ने छ । यदि मौजुदा दरमै जनसंख्या बढ्ने हो भने सन् २०७० सम्म विश्वमा सबैभन्दा धेरै मानिसले मुस्लिम धर्म मानेका हुनेछन् ।’

सन् २०५० सम्म भारतमा मुस्लिमको जनसंख्या ३० करोड पुग्ने प्रतिवेदनमा जनाइएको छ । यसका बाबजूद भारतमा हिन्दू धर्मावलम्बी कै बहुमत कायम रहने पनि प्रतिवेदनमा उल्लेख छ ।

हाल विश्वमा सबैभन्दा ठूलो जनसंख्या क्रिश्चियन धर्मावलम्बीको छ । दोस्रो नम्बरमा मुस्लिम, तेस्रो नम्बरमा नास्तिक र चौथो नम्बरमा हिन्दू धर्मावलम्बी छन् । प्रतिवेदनअनुसार युरोप र उत्तर अमेरिकामा नास्तिकको संख्या बढे पनि सन् २०५० सम्ममा नास्तिकको संख्यामा कमी आउने छ ।

विश्वमा हाल १६.४ प्रतिशत नास्तिक छन् । सन् २०५० सम्ममा यो संख्या १३.२ प्रतिशतमा सीमित रहने प्रतिवेदनको ठहर छ । (एजेन्सी)