Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


लुक्ला–काठमाडौं हवाईजहाजमा एक्लो यात्री


0
Shares

तीनजना चालकदलका सदस्य भएपनि सीता एअरको यात्री बस्ने १८ ओटा सिटमा उनी एक्लै थिए । यात्रीको सिटमा एक्लै यात्रा गरेको यो उनको पहिलो अनुभव हैन, यसपटकसमेत गरी उनले पाँचौंपटक एकल यात्रीकोरुपमा लुक्ला–काठमाडौंको यात्रा गरेका छन् ।

राई भन्छन्–‘हवाईजहाजमा एक्लै यात्रा गर्नु मेरो चाहना हैन, बरु एअरलाइन्सको बाध्यता हो ।’

अहिले खुम्बु क्षेत्रमा पर्यटकीय मौसम सुरु भएको छ, त्यसैले राजधानीबाट लुक्ला जाने यात्रीको भीड नै लाग्छ, विदेशी पर्यटक र जाडो छलेर फर्कने स्थानीयवासीसमेत गरी दैनिक सयौं यात्री काठमाडौंबाट लुक्ला जान्छन् ।

त्यस्तै, पर्यटकका लागि आवश्यक उपभोग्य सामान पनि हवाईजहाज कार्गो गरेरै ओसारिन्छ । तर, पर्यटक फर्कनेबेला नभएकाले लुक्लाबाट फर्कंदा हवाईजहाज रित्तै फर्कनुपर्छ ।

हिजोआज मानिस वा कार्गो लिएर दैनिक लुक्ला आउने १५/२० ओटा हवाईजहाज फर्कंदा रित्तै हुन्छन् वा एकाध यात्री लिएर फर्कन्छन् ।

पर्यटन व्यवसायमा संलग्न सोलुखुम्बु, बुङका नीरकुमार राई पनि आफू लुक्लाबाट थुप्रैपटक यात्री बस्ने सिटमा एक्लै बसेर यात्रा गरेको बताउँछन् ।

सगरमाथा क्षेत्रमा वर्षमा दुईपटक सिजन हुन्छ । वार्षिक ३५ हजारभन्दा बढी पर्यटक पुग्ने सगरमाथाको प्रवेशद्वारा लुक्ला हो । मुख्य सिजनकाबेला लुक्ला विमानस्थलमा दैनिक सयको हाराहारीमा हवाईजहाज अवतरण हुन्छन् ।

तारा एअर लुक्लाका इन्चार्ज फुनुरु शेर्पा भन्छन्–‘आजभोलि यताबाट फर्कने मानिस हुँदैनन्, दुई/चारजना लिएर वा रित्तै पनि फर्कनुपर्छ, यहाँको अवस्था नै यस्तै भएकाले हामीलाई सामान्य लाग्छ ।’ रासस