Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


लगानी सम्मेलनः चीनबाट सबैभन्दा बढी झन्डै ९ खर्बको प्रतिबद्धता, कसले–कति ?


0
Shares

सरकारले अनुमान गरेभन्दा साढे १२ खर्ब रुपैयाँ बढीको लगानी प्रतिबद्धता आएको हो । सरकारले यो सम्मेलनबाट १ खर्ब लगानी जुट्ने अनुमान गरेको थियो ।

सम्मेलनको समापन कार्यक्रममा शुक्रबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले १३ अर्ब ५२ करोड अमेरिकी डलर लगानीको प्रतिबद्धता आएको जानकारी गराए ।

लगानी सम्मेलनमा चीनले सबैभन्दा बढी ८ अर्ब ३० करोड अमेरिकी डलर लगानीको प्रतिबद्धता जनाएको छ ।

यस्तै, बंगलादेशबाट २ अर्ब ४० करोड डलरको लगानी प्रतिबद्धता आएको छ ।

जापान र बेलायतका लगानीकर्ताले पनि एक/एक अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैगरी, श्रीलंकाबाट ५० करोड डलरको लगानी प्रतिबद्धता आएको छ भने भारतले ३१ करोड ७० लाख डलरकोमात्रै लगानी प्रतिबद्धता जनाएको छ ।

सम्मेलनमा स्वदेशी लगानीकर्ताले १ करोड १५ लाख डलरको लगानी प्रतिबद्धता जनाएका छन् ।

विशेषगरी ऊर्जा, यातायात, कृषि, पर्यटन र सूचना तथा प्रविधिलगायतका पूर्वाधार क्षेत्रमा लगानीका लागि प्रतिबद्धता आएको हो ।

सम्मेलन समापन कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न देखाएको चासोलाई सरकारले उच्च मूल्यांकन गर्दै लगानी ल्याउने वातावरण तत्काल बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले लगानीकर्ताले खोजेको प्रक्रियागत झन्झट हटाइ उक्त लगानी ल्याउने वातावरण बताउने बताए ।

सम्मेलनमा २८५ विदेशीसहित ७७५ जना लगानीकर्ताको सहभागिता रहेको थियो ।