२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


‘एउटा हिङ नभए खानै नबस्ने, अर्को हिङ भए भित्रै नपस्ने !’


0
Shares

                                                                                      फाइल फोटो

शुक्रबार नेकपा माओवादी केन्द्रले काभ्रेको कामीडाँडामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने–‘मुलुक खुकुरीको धारमा भएकोबेला प्रधानमन्त्रीको जिम्मेवारी लिएको छु । संविधान कार्यान्वयन गर्ने चुनौती हाम्रोसामु छ । एकथरि मान्छेहरु कुनै हालतमा संविधान संशोधन हुनै हुन्न भन्छन्, अर्कोथरि मान्छेहरु चुनाव हुनै दिन्नौं भन्छन् । एउटा हिङ नभए खानै नबस्ने, अर्को हिङ भए भित्रै नपस्ने ! यी दुई अतिवाद नै मुलुकको प्रमुख समस्या हो । संशोधन र निर्वाचन नचाहने शक्तिहरु एउटै हेडक्वार्टरबाट परिचालन त छैनन् ? व्यवहार हेर्दा त्यस्तै लाग्छ ।’

स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने स्पस्ट पार्दै प्रधानमन्त्रीले भने–‘अहिले स्थानीय तहको निर्वाचन नगर्ने हो भने मंसिरमा प्रदेश र केन्द्रको निर्वाचन गर्न सकिँदैन । संघीयता नचाहने र मन नपराउनेहरु स्थानीय तहको निर्वाचन नहोस् भन्नेमै छन् । सिंहदरबारको अधिकार गाउँ,–टोलसम्म पुगेको उनीहरु देख्न चाहँदैनन् । संविधानको जननी माओवादी हो, रगतसँग साटिएको संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पनि माओवादीकै हो, त्यसैले स्थानीय तहको निर्वाचन कुनै हालतमा रोकिँदैन, रोक्न सकिँदैन ।’

माओवादी केन्द्रका अध्यक्ष दाहालले कामीडाँडा नेपाली राजनीतिको स्मरणयोग्य ठाउँ भएको पनि बताए ।

‘१२ बुँदे सम्झौता भएको थियो । जनआन्दोलन भएको थियो । तर, शान्ति–सम्झौता भएको थिएन । युद्धलाई क्रान्तिकै बाटोमा अघि बढाउने वा शान्ति–प्रक्रियामार्फत् स्थायित्व दिने भन्नेमा ठूलै बहस थियो । मैले अन्तिमपटक जनमुक्ति सेनालाई सुप्रिम कमान्डरका हैसियतले यहीँ निर्देशित गरेको थिएँ । यहीँको बैठकले देशमा शान्ति–सम्झौता, संविधानसभा, गणतन्त्र र नयाँ संविधान भयो । त्यसैले कामीडाँडा नेपाली राजनीतिको असाध्यै स्मरणयोग्य ठाउँ हो’–उनले भने ।

माओवादी केन्द्रका नेताहरु अमिक शेरचन, कमानसिंह लामा, सूर्यमान दोङलगायतले माओवादीमात्रै देशको परिवर्तन र समृद्धिको नेतृत्व गर्नसक्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले काभ्रेका सहिद र बेपत्ताका परिवारहरुलाई सम्मान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।