-कविराज घिमिरे,ईमेज
स्थानीय जातका उखुबाट घरेलु प्रविधिमा बनाइने सख्खरको बढ्दो लोकप्रियताले स्थानीयलाई माग धान्नसमेत मुस्किल पर्ने गरेको छ ।
संखुवासभाको चैनपुर नगरपालिका वडा नम्वर १८ गैरीगाउंका कृषकलाई यतिबेला उखुवाट सख्खर उत्पादन गरी बिक्रीबितरण गर्न भ्याईनभ्याइ भएको हो ।
सिंचाइ अभावका कारण अन्न र तरकारी बाली नउब्जिने सुख्खाग्रस्त स्थानमा पनि सख्खरका लागि उपयोगी ढोडे र सिटे उखु उत्पादन हुने भएकाले पनि बर्षौ अघिदेखि उनिहरुले उखुवाट सख्खर उत्पादन गरी बिक्री बिरण गदै आएका छन् ।
गैरी गाँउ जस्तै खराङ, वाना, होक्से र खप्टुवाका किसान यतिबेला सख्खर उत्पादन गरि बिक्री गर्न ब्यस्त छन् । संखुवासभाका एक सय भन्दा बढी परिवार किसानले सख्खर उत्पादनलाई ब्यावसायिक रुपमै अंगालेका छन् ।
पुष, माघ र फागुन गरि हिँउदका ३ महिनामात्रै उत्पादन हुने सख्खर स्थानीय बजारमा प्रतिकिलो दुइ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
एकै हटियामा एउटै ब्यापारीले मात्र १५ हजार रुपैयांसम्मको बिक्री गर्ने गरेको स्थानीय ब्यापारी बताउंछन् ।
घरेलु प्रविधि प्रयोग गरी स्थानीय ढोडे र सिटे जातका उखुबाट उत्पादन गरिने सख्खरले यस क्षेत्रमा मात्रै होइन टाढाका आगन्तुक माझ पनि आफ्नै पहिचान बनाएको छ ।
चैनपुर, खराङ, तुम्लीङटार र खाँदबारी पुग्ने जो कोहिले औषधीय गुणयूक्त गुलियो सख्खर औधि मनपराउने गरेका छन् ।
संखुवासभाको चैनपुर, खराङ, तुम्लीङटार र खाँदबारीका स्थानीय बजारमा मात्रै बार्षिक करिब एक करोड २५ लाख रुपैयाँ बराबरको सख्खर बिक्रि हुने गरेको स्थानीय ब्यपारीहरुको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्