अभियानको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन र निर्वाचनका लागि देशव्यापी अभियान सुरु गरिएको बताए ।
कार्यकर्ता र समर्थकहरुको निकै ठूलो उपस्थितिमाझ अध्यक्ष ओलीले राष्ट्रिय झन्डा र पार्टीको झन्डा फहराएर मेची–महाकाली अभियानको शुभारम्भ भएको घोषणा गरेका हुन् ।
झापा विद्रोहका अगुवाहरुको सम्झनामा हरेक वर्ष मनाइने सुखानी स्मृति दिवसको अवसर पारेर एमालेले पूर्वी नेपालको काँकडभिट्टाबाट मेची महाकाली राष्ट्रिय अभियान सुरु गरेको हो ।
सामाजिक सद्भाव र राष्ट्रिय एकता अभिवृद्धिका लागि मेची–महाकाली अभियान सुरु गरिएको एमालेले जनाएको छ ।
अध्यक्ष ओलीले संविधान र कानुन मानेर एमाले अघि बढ्ने भन्दै त्यसका लागि कोही–कसैका आधारहीन मागमा सहमति र सम्झौता नगर्ने बताए ।
मधेसी मोर्चाका मागतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले जनताकोबाहेक अरुको आदेश मान्ने पक्षमा एमाले नरहेको भन्दै सबै कुराको छिनोफानो निर्वाचनबाट हुने जिकिर गरे ।
अभियानकैक्रममा एमालेले शनिबार झापाको बिर्तामोड र दमकमासमेत आमसभा गरेको छ । सभामा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले सम्बोधन गरे ।
अभियानमा ५० लाख मानिसले प्रत्यक्ष–अप्रत्यक्षरुपमा सहभागिता जनाउने एमालेको विश्वास छ ।
अभियानकाक्रममा साना–ठूला गरी ३५ ओटा आमसभा हुनेछन् भने अभियानमा १० हजार स्वयंसेवक परिचालन गरिएको बताइएको छ । पूर्वबाट सुरु गरिएको अभियान १५ दिनसम्म चल्नेछ ।
भिडियो हेर्नुहोस्





प्रतिक्रिया दिनुहोस्