
-केके मानन्धर, ईमेज
ऐतिहासिक नगरी मध्यपुर थिमिको बालकुमारी प्राङ्गणमा आयोजित औपचारिक कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले प्रजापतिलाई खादा ओडाएर, दहिको सगुनबाट अभिनन्दन गरेका हुन् ।
वाद्य तथा नाच गुरु एवं जीवित सांस्कृतिक धरोहर प्रजापतिले देश विदेशमा नेपाली मौलिक बाजा देखि विभिन्न नाचहरु सिकाएका छन् ।
कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले भौतिक तथा अभौतिक संस्कृतिलाई अन्तराष्ट्रिय स्तरमा प्रचार गर्नुपर्नेमा जोड दिए ।
संयुक्त राष्ट्र संघ अन्तर्गतको युनेस्कोले मौलिक संस्कृति संरक्षण गर्ने अभियान सञ्चालन गरिरहेको छ ।
“युनेस्कोले शुरु गरेको अभियानमा हामी पनि सम्मिलित हुन सके मौलिक संस्कृति जगेर्नामा टेवा पुग्छ ।” जोशीको भनाई थियो ।
हुन पनि मानव सभ्यताको आधारस्तम्भ बनेको संस्कृतिलाई कुनै निश्चित बर्ग, समुदाय, क्षेत्रमा सीमित नगराइ यसको महत्व, विशेषता विषयमा उजागर गर्नु आवश्यक देखिन्छ ।
त्यस्तै, भक्तपुर क्षेत्र नं। २ का सांसद् रामेश्वर ढुङ्गेलले अभिनन्दित व्यक्तिलाई शुभकामना दिंदै प्रजापतिको संस्कृति संरक्षण तथा प्रबद्र्धन क्षेत्रको ८ दशकको यात्रा विषयमा चर्चा गरे।
मानव जीवनको अस्तित्व झल्काउने तथा समूह चिन्तनको लागि प्ररित गर्ने संस्कृतिलाई थप व्यवस्थित गर्नु पर्नेमा उनको जोड थियो ।
मौलिकता प्रर्दशन गर्ने संस्कृति जगेर्ना गराउन सरकारी निकायको ध्यानाकर्षण गराउँदै आफुले पनि सम्बन्धित ठाउँमा पहल गर्ने प्रतिबद्धता जनाए ।
जिल्लाका सय भन्दा बढी संघसंस्थाले सामुहिक रुपमा आयोजना गरेको समारोहको लागि “श्री श्रीगोपाल प्रजापति नागरिक अभिनन्दन मूल समारोह समिति” बनाएको थियो ।
सोही अन्तर्गत विभिन्न समिति तथा उप–समिति बनाएर औपचारिक कार्यक्रमलाई भव्य बनाएको थियो । ओस्ला नेपाल, न्ह्यज्या खलः, ल्याय्म्ह पुचः देखि सहकारी संस्थाहरुले आर्थिक तथा भौतिक सहयोग गरेका हुन् ।
कार्यक्रममा मूल समारोह समितिका संयोजक मदनसुन्दर श्रेष्ठ, प्रमूख जिल्ला अधिकारी, मध्यपुर थिमि नगरपालिकाका कार्यकारी अधिकृत लगायतले आ–आफ्ना सान्दर्भिक मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई संचारकर्मी केके मानन्धरले सञ्चालन गरेका हुन् । स्वस्फूर्त सहभागी आम–नागरिक मध्ये पूर्व मन्त्री डा. केशवमान शाक्य, पूर्व सांसद् लेखनाथ न्यौपाने, भाषासेवी, शिक्षासेवी, विभिन्न दलका नेता, साहित्यकार, बुद्धिजीवीहरुको उलेख्य सहभागिता थियो ।
कार्यक्रममा प्रजापतिको जीवनका पूर्वाद्ध, उतराद्र्ध देखि व्यावसायिक तथा सांस्कृतिक अनवरत यात्रा विषय समेटेको स्मारिका, चित्र अंकित चाँदीका सिक्का समेत विमोचन गरेको थियो ।
औपचारिक कार्यक्रम अगाडी अभिनन्दित व्यक्तिलाई महांकाली, अष्टमातृका, इन्द्रअप्सरा नाच, भष्मासुर लगायत दर्जन भन्दा बढी सांस्कृतिक टोली सहितको नगर परिक्रमा गराएको थियो ।
सांस्कृतिक र्यालीमा काभ्रे, ललितपुर, काठमाडौं तथा भक्तपुरका विभिन्न क्षेत्रबाट स्वस्फूर्त आम–नागरिक सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्