
काठमाडौं, फागुन १९ । तीन पटक अर्थमन्त्री बनेका भरतमोहन अधिकारी विकासप्रेमी नेताको रुपमा परिचित थिए । २०५१ सालमा बनेको पहिलो कम्यूनिष्ट सरकारको पहिलो अर्थमन्त्री अधिकारीको ‘आफ्नो गाउँ आफैँ बनाउँ’, बृद्धा भत्ता वितरण लगायतका कार्यक्रम निकै लोकप्रिय मानिन्छ ।
१९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमणपुरामा रामचन्द्र र पूर्णकुमारी अधिकारीको कान्छो छोराको रुपमा जन्मिएका अधिकारी नेपाली कम्यूनिष्ट आन्दोलनदेखि अर्थमन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म बने ।
विभिन्न समयमा गरी तीन पटक अर्थमन्त्री भएका उनी पहिलो पटक २०५१ सालमा पहिलो कम्यूनिष्ट सरकारको अर्थमन्त्री बनेका थिए । नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी पहिलो वामपन्थी प्रधानमन्त्री बन्दा उनका सहोदर भाइ भरतमोहन अधिकारी अर्थमन्त्री नियुक्त भएका थिए ।
अधिकारी अर्थमन्त्री नियुक्त हुनुपूर्व महेश आचार्यले आर्थिक वर्ष २०५१÷०५२ को वार्षिक बजेट ल्याए पनि नयाँ सरकारका अर्थमन्त्री अधिकारीले ६ महिनाका लागि बजेट प्रस्तुत गरेका थिए । सोही बजेटलाई नेपालको बजेटरी इतिहासमा ‘कोशेढुंगा’ भन्दै व्याख्या गर्ने गरिन्छ । उनले ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकका लागि मासिक एकसय रुपैयाँ भत्ता सुरु गरे, जुन अत्यन्त लोकप्रिय बन्यो । हाल यो वृद्धा भत्ता मासिक २ हजार पु¥याइएको छ । ‘आफ्नो गाउँ आफैँ बनाउँ’ नारा अधिकारीले नै अघि सारेका थिए ।
लोकप्रिय बजेटको ६ महिनापछि नै अधिकारीले आर्थिक वर्ष २०५२÷०५३ का लागि ५१ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । मन्त्री अधिकारीले नै पहिलोपटक कर क्षमताको सूचक निर्धारण गर्ने घोषणा गरे ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा एमालेबाट अधिकारी दोस्रो पटक उपप्रधानसहित अर्थमन्त्री बने ।
झलनाथ खनाल प्रधानमन्त्री हुँदा २०६८ सालमा तेस्रो पटक अधिकारी अर्थमन्त्री बने । पटक पटक अर्थमन्त्री हुँदा लोकप्रिय बजेट ल्याउन सफल अधिकारी २०६८ को बजेट प्रस्तुत गर्दा भने विवादमा परे । संसद्बाट बजेट सार्वजनिक गर्नुअघि नै वेबसाइटमार्फत बजेट सार्वजनिक भएपछि प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध कारण रोस्ट्रममा पुगेर पनि उनले बजेट प्रस्तुत गर्न पाएनन् ।
नक्कली भ्याट बिल काण्डमा पनि उनी विवादित बने । भ्याट बिल छानबिन र उपसचिवहरुको सरुवाको विषयलाई लिएर अर्थमन्त्री अधिकारी र तत्कालीन अर्थसचिव रामेश्वर खनालबीच निकै विवाद भयो । मन्त्री अधिकारीसँगको विवादपछि सचिव खनालले पदबाट राजीनामा नै दिए ।
विकासप्रेमी नेताका रुपमा परिचित अधिकारी मोरङको तत्कालीन निर्वाचन क्षेत्र नं २ बाट तीन पटक सांसद निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्