१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सप्तरीमा प्रहरीसँगको झडपमा चारजनाको मृत्यु, दर्जनौं घाइते, सप्तरी तनावग्रस्त


0
Shares

मृत्यु हुनेमा मोर्चाका कार्यकर्ताहरु सन्जन मेहता, दिगम्बर यादव, आनन्द साह र गजेन्द्र मण्डल रहेका छन् ।

झडपमा १५ जनाभन्दा बढी मोर्चाका कार्यकर्ता र दुईदर्जन बढी प्रहरी घाइते भएको जनाइएको छ ।

राजविराजको औद्योगिक क्षेत्रमा एमालेले गरेको आमसभा सम्पन्न हुनैलाग्दा एकाएक झडप भएको थियो ।

सभास्थलबाहिर प्रहरीको घेरामा रहेका मोर्चाका कार्यकर्ताले सभाबाट फर्कंदै गरेकाहरुलाई लक्षित गरी ढुंगामुढा र पेट्रोलबम हान्न थालेपछि बल प्रयोग गरेको र स्थिति नियन्त्रणबाहिर जान थालेपछि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ ।

झडपकाक्रममा प्रहरीले अश्रुग्यास र हवाई फायरसमेत गरेको थियो ।

घटनामा मोर्चाका कार्यकर्ताले प्रहरीको एउटा सन्चार सेटसमेत खोसेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसैदेखि लाठीसहित उत्तेजितरुपमा उत्रिएका मोर्चाका कार्यकर्ताले एमालेको कार्यक्रमलाई ठाउँ–ठाउँमा अवरोध गर्ने कोसिस गरेका थिए ।

कोसीनदी पार गरेर जुलुस भारदह हुँदै सप्तरी प्रवेश गरेपछि मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेकोमा प्रहरीले उनीहरुलाई राजमार्गमा निस्कनै दिएको थिएन ।

औद्योगिक क्षेत्रमा राखिएको एमालेको सभास्थल बिथोल्न खोज्नेहरुलाई पनि प्रहरीले लाठीचार्ज गरी तितर–वितर बनाएको थियो । त्यसक्रममा पनि आधादर्जन मोर्चाका कार्यकर्ता घाइते भएका थिए ।

कार्यक्रमस्थलबाट दुई किलोमिटर टाढा दुईओटा सकेट बमसमेत राखेको फेलापरेको थियो । उक्त सकेटबम नेपाली सेनाको टोलीले निष्कृय पारेको थियो ।

एमालेलाई सप्तरीमा प्रवेश गर्नै नदिने भन्दै मोर्चाले सोमबार जिल्ला बन्द गर्नुका साथै बिहानैदेखि विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए ।

बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले शम्भुनाथ नगरपालिकामा केही सवारी–साधन तोडफोड गरेका थिए ।

स्थानीय प्रशासनले सोमबार सप्तरीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।