
सोमबार सप्तरीमा भएको घटनाबारे मंगलबार पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै एमालेले एमाले सभालाई तीनतिरबाट घेरा हाल्ने र हातहतियारसहित प्रवेश गरी आक्रमण गर्ने नियत रहेको दाबी गरेको हो ।
पत्रकार सम्मेलनमा एमाले महासचिव ईश्वर पोखरेलले मधेसी मोर्चाको जघन्य आपराधिक मानसिकताका कारण सप्तरी घटना भएको भन्दै ‘घटनामा गृहमन्त्री विमलेन्द्र निधिको भूमिकासमेत शंकास्पद’ रहेको बताए ।
एमालेले सप्तरी घटनाको सम्पूर्ण जिम्मेवारी मधेसी मोर्चाले लिनुपर्ने पनि बताएको छ ।
पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा राजविराजको औद्योगिक क्षेत्रमा आमसभा सम्पन्न गरेर राजमार्गतर्फ जानेक्रममा घेरा हालेर एमाले नेतृत्वमाथि आक्रमण गर्ने र सामूहिक हत्या गर्ने योजना रहेको दाबी गरिएको छ ।
एमालेले सप्तरी घटनाबाट गृहमन्त्री विमलेन्द्र निधिले उन्मुक्ति नपाउने जिकिर पनि गरेको छ ।
एमालेले घटनाको निश्पक्ष छानबिन गर्न र एमाले पार्टी कार्यालयहरुमा आगजनी गर्ने, कार्यकर्तालाई धम्क्याउने र अवरोध गर्नेहरुलाई कानुनी दायरामा ल्याउन पनि माग गरेको छ ।
एमालेले सप्तरी घटनापछि तीन दिनका लागि स्थगित गरिएको मेची–महाकाली अभियान फागुन २७ गतेदेखि हेटौंडाबाट अगाडि बढ्ने पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्