२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


राष्ट्रियसभा र संसदीय समितिका बैठक स्थगित


0
Shares

काठमाडौं, फागुन १९ । राष्ट्रियसभाको आज बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

संघीय संसद सचिवालयले सूचना जारी गरी आज दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक पर्सी मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको उल्लेख गरेको छ ।

आजको बैठकको सम्भावित कार्यसूचीमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित राहदानी विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची थियो ।

यसैगरी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरी पारित गर्ने कार्यसूची थियो ।

यसैबीच, आजका लागि बोलाइएका संसदीय समितिका सबै बैठकहरू पूर्वउपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधनका कारण स्थगित गरिएको सचिवालयले जनाएको छ । आजका लागि संसदीय सुनुवाइ, राज्य व्यवस्था तथा सुशासन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित,महिला तथा सामाजिक, अन्तर्राष्ट्रिय सम्बन्ध,सार्वजनिक लेखा समितिका बैठकहरू डाकिएका थिए ।