Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


विवाह गरेको दुई सातामै ‘बोक्सीको आरोप’मा उपसेनानीद्वारा श्रीमतीलाई ‘घरनिकाला’


0
Shares

काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१६ आरुबारीकी उपमा भण्डारी विवाह–बन्धनमा बाँधिएको केही दिनपछि नै परिवारले दाइजो कम ल्याएको निहुँमा बोक्सीको आरोप लगाइ घरनिकाला गरेको आरोप छ ।

भण्डारी सोही नगरपालिकाको वडा नम्बर–१५ बेसीगाउँमा दिनेश केसीसँग विवाह–बन्धनमा बाँधिएकी थिइन् ।

भण्डारीले बुधबार महानगरीय प्रहरीवृत्त बौद्धमा उजुरी दिएको प्रहरी सहायक निरीक्षक शुक्र राईले राससलाई जानकारी दिए ।

केसी सैनिक जनसम्पर्क निर्देशनालयमा उपसेनानी पदमा कार्यरत् छन् ।

‘दुबैपक्षलाई राखी बुधबार वृत्त बौद्धमा छलफल गराइयो, छलफलमा दुबैपक्षले कानुनी प्रक्रियामा अघि बढ्ने सहमति जनाएकाले भण्डारीकी सासू राधिका केसीलाई नियन्त्रणमा लिइएको छ, दिनेश सेनामा कार्यरत् भएकाले बोलाएकाबेला हाजिर हुने सर्तमा छाडिएको छ’–उनले भने ।

मागी विवाह भएको दुई साता पनि नबित्दै राजधानीमै सेनामा कार्यरत् उपसेनानी दर्जाका जिम्मेवार व्यक्तिले श्रीमतीलाई घरनिकाला गर्नुलाई गम्भीररुपमा लिइएको अधिवक्ता प्रदीप थापाले बताए । रासस