-नृप हमाल, ईमेज
सञ्चार क्षेत्रको विकाससँगै हुम्लाको रेडियो कर्णाली आवाज एफएमले विद्यार्थीलाई रेडियोको तरंग मार्फत ट्युसन पढाई रहेको हो ।
हुम्लाको सदरमुकाम सिमीकोटमा रहेको रेडियो कर्णाली आवाज एफ.एम. ९४ थोप्लो २ मेघाहर्जबाट हरेक दिन साढे ४ बजेदेखि साढे पाँचसम्म एसईई दिने विद्यार्थीलाई स्टुडियोबाटै अध्यापन गराइरहेको छ ।
परीक्षाको तयारी गरिरहेका विद्यार्थीका लागि ट्युसन कार्यक्रम प्रभावकारी हुँदै गएको अभिभावकले जनाएका छन् ।
‘एसईई मिरर’ नाम दिइएको कार्यक्रमबाट हुम्ला, मुगु र बाजुराका विद्यार्थी लाभान्वित भएको स्टेशन म्यानेजर नवराज महतारा बताउँछन् ।
स्टेसनमा हरेक दिन १० जना विद्यार्थीले प्रत्यक्ष कक्षा लिँदै आएका छन् भने अन्य विद्यार्थीले रेडियो सुनेर कक्षा लिने गरेका छन् । रेडियो सुन्ने विद्यार्थीले आफ्ना समस्या फोन र एसएमएसबाट पठाउने गरेका छन् ।
कार्यक्रम सञ्चालकको सहयोगमा शिक्षकले समस्याको समाधान तत्काल रेडियोबाट नै गर्ने व्यवस्था गरिएकाले विद्यार्थीलाई पढ्न सजिलो भएको छ ।
आर्थिक अवस्था कमजोर भएका र विषय शिक्षक नपाएका विद्यार्थीका लागि एसएलसी परीक्षाको तयारी कक्षा सरल तरिकाले रेडियोबाटै गरिने व्यवस्था गरिएको छ ।
रेडियोले आफ्नो स्थापनाकालदेखि नै हरेक वर्षको मंसिरदेखि फागुन मसान्तसम्म स्टुडियोको वेवबाट ट्युसन कक्षासमेत प्रसारण गर्दै आएको छ ।
रेडियोबाट सञ्चालन गरिने ट्युसन कक्षाले परीक्षामा राम्रो नम्बर ल्याउन मद्दत पुर्याउने विद्यार्थी बताउंछन् ।
रेडियोमार्फत पढाइ हुने गणित, विज्ञान र अंग्रेजी विषयको ट्युसन कक्षा जिल्लाका २ सय ५० भन्दा बढी विद्यार्थीले लिएको रेडियोले जनाएको छ ।
ट्युसन कक्षाका लागी पहिलो वर्ष रेडियोले आफ्नै खर्चमा शुरुवात गरे पनि अहिले जिल्ला शिक्षा कार्यालय हुम्ला र अन्य गैरसरकारी संस्थाले पनि सहयोग गर्दै आएका छन् ।
आर्थिक तथा शिक्षक अभावका कारण पछाडि परेका हुम्लाका विद्यार्थीलाई रेडियोबाटै ट्युशन कक्षा सञ्चालन गरी सञ्चारमाध्यमले गरेको प्रयासलाई सराहनीय मान्नुपर्छ ।










प्रतिक्रिया दिनुहोस्