२ असार २०८१, आइतबार | Sun Jun 16 2024


भारतीय एसएसबीको गोलीबाट नेपालीको मृत्यु, यस्तो छ घटना (भिडियोसहित)


0
Shares

गोली लागेर ज्यान गुमाउनेमा पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतम रहेका छन् ।

कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सीपी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । भारतीयको गोली लागेर अरु चारजना नेपालीहरु घाइतेसमेत भएका छन् ।

पुनर्वासको दशगजा क्षेत्रमा कल्भर्ट बनाउने विषयमा विवाद हुँदा भारतको सम्पूर्णनगरका प्रहरी निरीक्षकले नेपालीहरुमाथि गोली प्रहार गरेको जनाइएको छ ।

जंगेपिलरसमेत हराइसकेको सो क्षेत्रमा हालका लागि खोलामाथि कच्ची कल्भर्ट निर्माण गर्ने सहमति केही समयअघि नेपाली र भारतीय अधिकारीहरुबीच भएको थियो ।

सोही सहमतिअनुसार पुनर्वास नगरपालिकाले बुधबार (हिजो)देखि कल्भर्ट बनाउन थालेकोमा भारतीय एसएसबीले भत्काएको थियो ।

कल्भर्ट भत्काएको विरोधमा प्रदर्शन गर्न पुगेका नेपालीहरुमाथि भारतीय प्रहरीले गोली हानेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी प्रवक्ता डीएसपी नैनसिंह कार्कीले बताए ।

बुधबार राति हतियारसहित नेपाल छिरेका एसएसबीका जवानहरुले स्थानीय नेपालीहरुलाई घर छाडेर जान धम्क्याएको पनि स्थानीयले बताएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्