११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


संसदीय समितिमा रहने सदस्यको नाम उपलब्ध गराउन सभामुखको आग्रह


0
Shares

काठमाडौं, असार २१ । सभामुख कृष्णबहादुर महराले विभिन्न संसदीय समितिमा रहने सदस्यको नाम यथाशीघ्र उपलब्ध गराउन राजनीतिक दललाई आग्रह गरेका छन् ।

सिंहदरबारस्थित आफ्नै सचिवालयमा पत्रकारसँग बिहीबार कुराकानी गर्दै उनले एक साताभित्र संसदीय समितिले पूर्णता पाउने र शुक्रबारको बैठकमा केही समितिको गठन हुने सम्भावना रहेकोसमेत जानकारी दिए ।

राजनीतिक दलले संसदीय समितिमा रहने सदस्यको नाम नपठाएकै कारण समिति गठन हुन सकेको छैन ।

सभामुख महाराले संविधान कार्यान्वयनकाक्रममा आगामी असोज २ गतेभित्र धेरै ऐन जारी भइसक्नुपर्ने भएकाले सरकारलाई कानुनका विधेयक संसदमा पठाउन पनि आग्रह गरे ।

नयाँ संविधान जारी भइ लागू भएपछि पुराना कानुनको संशोधन तथा नयाँ कानुन गरी संसदमा १०० विधेयक आउनुपर्ने हुन्छ ।

कानुन पारित गर्नुपर्ने समयावधि अत्यन्त कम भएकाले सभामुख महराले सरकारलाई सो आग्रह गरेका हुन् ।

सदनमा आफूले सत्तापक्ष र प्रतिपक्ष दुवैका आवाजलाई समान महत्व दिने भन्दै उनले निर्णायक अवस्था आउँदा बहुमतकै सहारा लिनुपर्ने अवस्था रहेको स्पस्ट पारे ।

संसदीय समिति गठन हुँदा चार ठूला दलबाहेकका साना दललाई पनि कुनै न कुनै समितिमा समावेश गराउन आफूले पहल गर्ने सभामुख महराले बताए । रासस