१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025


यसरी हुँदैछ स्थानीय तहको निर्वाचन, ३६ हजार जनप्रतिनिधि चुनिँदै (भिडियो रिपोर्ट)


0
Shares

आगामी वैशाख ३१ गते हुने ७४४ गाउँ तथा नगरपालिकाको निर्वाचनका लागि २१ हजार मतदान केन्द्र तोकिँदै छ भने झन्डै ३६ हजार जनप्रतिनिधि चुनिँदैछन् ।

निर्वाचन आयोगले जिल्ला तहमा क्रियाशील राजनीतिक दलहरुको विवरण अद्यावधिक गरिसकेको छ ।

आयोगले ७४४ गाउँ तथा नगरपालिकामा हुने सात पदको निर्वाचनका लागि मतपत्र बनाउने र गाउँगाउँमा मतदाता शिक्षा सन्चालनको तयारी पनि गरेको छ ।

नयाँ संरचनाअनुसार हुने यो निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वा नगरपालिका प्रमुख, उपप्रमुखका लागि निर्वाचन हुनेछ । त्यसमध्ये दलहरुले एकमा महिला उम्मेदवार अनिवार्य उठाउनुपर्नेछ ।

त्यस्तै, एउटै मतपत्रमा वडा अध्यक्ष, एक दलितसहित दुई महिला सदस्य र दुई खुला सदस्य गरी सातओटा मत प्रयोग गर्नुपर्नेछ ।

यसरी नयाँ व्यवस्थाअनुसार देशभरबाट लगभग ३६ हजार स्थानीय जनप्रतिनिधि चुनिनेछन् । जहाँ सवा तीन लाख मानिस उम्मेदवारकारुपमा मैदानमा जाने अनुमान आयोगको छ ।

झन्डै दुई दशकपछि हुन लागेको यो निर्वाचनमा स्थानीय तहमा जनता निकै उत्साहित बनेका छन् । आयोगले चैत २० गतेभित्र मतदाता नामावलीलाई अन्तिम टुंगो लगाएर मतदाता शिक्षा सन्चालन गर्नेछ ।

आयोग निर्वाचनको तयारीमा तीव्ररुपमा जुटिसकेको भन्दै आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले अहिले मतदान सामग्री र नियमावली तथा कार्यविधि बनाउने काम भइरहेको जानकारी दिए ।

चैत १० गतेभित्र मतदान केन्द्र स्थापना गरिसक्ने लक्ष्य राखेको आयोगले वैशाख ३ गते मुख्य निर्वाचन अधिकृत जिल्ला जाने र वैशाख १० भित्र सबै गाउँपालिकामा निर्वाचन अधिकृत पुर्‍याउने तयारी गरेको छ ।

वैशाख १६ देखि १९ सम्ममा उम्मेदवारी मनोनयनसहित चिर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका आयोगको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।