
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता अधिकारी विक्रम सम्वत १९९३ साल बैशाख २२ गते महोत्तरीको भ्रमरापुरा गाउँमा जन्मिएका थिए ।
तत्कालीन नेकपा एमालेका अध्यक्ष दाजु मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला २०५१ सालमा पहिलोपटक अर्थमन्त्री बनेका अधिकारी चार पटकसम्म अर्थमन्त्री भए ।
उनले एकपटक यातायात तथा निर्माणमन्त्री, चार पटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन लगायत विभागमा प्रमुखको जिम्मेवारी बहन गरेका थिए ।
अधिकारी अर्थमन्त्री हुँदा अघि सारिएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, वृद्धभत्ता कार्यक्रम लोकप्रिय बनेका छन् ।
अधिकारी अर्थमन्त्री हुँदा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन थालिएको हो भने वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट विनियोजन अधिकारीकै योजनामा आएका हुन् ।
संसद विघटनपश्चात बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा अधिकारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री बने । त्यसबेला पनि उनले अस्पतालमा सुत्केरी हुनेलाई भत्ता दिने व्यवस्था गरेका थिए ।
अस्पतालमा सुत्केरी हुनेले हिमाली क्षेत्रमा १ हजार ५ सय, पहाडी क्षेत्रमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन् ।
वि.स. २०४७ मा संविधान मस्यौदा समिति सदस्य रहेका अधिकारी मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा दुईपटक निर्वाचित भएका थिए ।
अधिकारी मनमोहन मेमोरियल फाउन्डेसनका संस्थापक अध्यक्ष पनि थिए । अधिकारीका पत्नी र दुई छोरी छन ।
विराटनगरको आर्दश माध्यामिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका अधिकारीले भारतको इलाहावादबाट प्रविणता प्रमाणपत्र तह, बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्र र दर्शनशास्त्रमा स्नातक तथा त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा एमए र कानुनमा स्नातक गरेका थिए ।
अधिकारीले सन् १९५२ मा १६ बर्षको उमेरमै भारतको बनारसमा भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिएर राजनीति सुरु गरेका थिए ।
२०१७ सालमा तत्कालिन राजा महेन्द्रले कू गरेपछि सोभियत संघमा पीएचडी पढ्न पाएको छात्रबृत्ति त्यागेर सक्रिय राजनीतिमा अधिकारीले आफ्नो जीवनकालभरी देश र जनताको सेवामा लागेका थिए ।
निरन्तर सक्रिय, विनम्र र मिलनसार व्यक्तित्वका रूपमा परिचित उनलेआफ्नो करिब सात दशक लामो राजनीतिक जीवन कम्युनिष्ट आन्दोलनको विकास, विस्तार र अग्रगतिमा व्यतीत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्