
पोखरा, फागुन १८ । थ्रीस्टार क्लबले १७औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ‘सडनडेथ’मा पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो ।
निर्धारित् समयको खेल १–१ को बराबरीमा र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल ‘टाइब्रेकर’मा पुगेको थियो ।
पेनाल्टी सुटआउटमा थ्रीस्टारका रन्जित धिमाल, रुपेश केसी, विक्रम लामा र अनन्त तामाङले गोल गरे । सुशील राई गोल गर्नबाट चुके ।
यस्तै, आर्मीका भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो । विकेश कुथूको प्रहारलाई थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले बचाए ।
५–५ पेनाल्टी सुटआउटमा ४–४ गोल भएपछि खेल सडनडेथमा पुग्यो ।
सडनडेथमा आर्मीका विकास खवासको पेनाल्टी प्रहारलाई थ्रीस्टारका गोलरक्षक न्यौपानेले जोगाए । अर्कोतर्फ थ्रीस्टारका मिचेन तामाङको प्रहार गोल भएपछि थ्रीस्टारले आहा ! गोल्डकपको उपाधि पाँचौंपटक जित्न सफल भयो ।
यसअघि, खेलको पाँचौं मिनेटमा आर्मीले टेकबहादुर बुढाथोकीको गोलबाट अग्रता बनाएको थियो । थ्रीस्टारले ४५औं मिनेटमा पेनाल्टी पायो । त्यसलाई रन्जित धिमालले सदुपयोग गर्दै खेल बराबरीमा ल्याए ।
अतिरिक्त समयको १५औं मिनेटमा आर्मीका विमल पाण्डेले गोल गर्दैै आर्मीलाई २–१ को अग्रता दिलाए । तर, खेलको अन्तिम समयतिर थ्रीस्टारका पिटरले गोल गर्दै खेल फेरि बराबरीमा ल्याए ।
अतिरिक्त समयको आठौं मिनेटमा सुनील बलले रातोकार्ड पाएपछि थ्रीस्टार १० खेलाडीमा समेटिएको थियो ।
खेलाडीको सूचीमा नाम नभएका आशिष शाक्यलाई खेलाएपछि अन्तिम समयमा आर्मीसमेत १० खेलाडीमा सीमित बनेको थियो ।
उपाधिसँगै थ्रीस्टारले ८ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । उपविजेता बनेको आर्मीले ४ लाखमा चित्त बुझायो ।
फाइनल खेलको ‘म्यान अफ दी म्याच’ थ्रीस्टारका गोलरक्षक एलन न्यौपाने घोषित भए ।
प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए ।
थ्रीस्टारले यसअघि, पाँचौं, नवौं, ११औं र १३औं संस्करणको उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्