Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


मधेसी मोर्चा र सरकारविरुद्ध कड्किए एमाले नेताहरु


0
Shares

भैरहवामा भएको सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सबै ढंगले मुलुकलाई सही बाटोमा हिटाउन प्रयत्नरत आफु नेतृत्वको सरकार गिराएदेखिनै मुलुक संकटतिर धकेलिन थालेको दाबी गरे । अहिलेको सरकारले कुनै पनि समस्या समाधानको हैसियत नराख्ने उनको भनाइ थियो ।

‘यो सरकार नेपाल र नेपालीको होइन,’ ओलीले भने, ‘विधिवत् रुपमा त संसदबाट बनाए जस्तो देखिन्छ । तर, चारतिर फर्केकाहरुलाई एउटै ठाउँमा ल्याएर टाउको जुधाएर मित लगाउने काम अर्कैले गरिदिएको छ ।’

यस्तै एमाले उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सरकारमा बसिरहने नैतिक अधिकार नभएको दाबी गरे । उनले मधेशी मोर्चाका नेताहरु आफु नेपालकै हुँ वा अन्यत्र कतैको भन्ने टुङ्गोमा पुग्नुपर्ने समेत बताए ।

‘अहिले संविधान असफल पार्न खोजिएको छ । समयमा संविधान कार्यान्वयन हुन नदिने योजना छ,’ गौतमले भने, ‘ठीकै छ, त्यो सफल पनि होला । तर, यो देश असफल हुन सक्दैन, हुन दिइँदैन । संविधानको इतिहास साढे ६ दशकको छ तर यो देशको इतिहास चार हजार बर्षको छ ।’

यसअघि आइतबार नै एमालेले नवलपरासीको भूमहीमा गरेको सभामा एमाले नेता झलनाथ खनालले कुनै पनि नेपालीलाई भारतीय हस्तक्षेप स्वीकार्य नहुने बताए ।

‘मुलुकको सार्वभौमिकता, स्वाभिमान, राष्ट्रियता र एकताका लागि नेकपा एमाले जुनसुकै बलिदान गर्न तयार छ,’ खनालले भने, ‘त्यसमा कुनै सम्झौता गर्दैन । भारतीय हैकमका विरुद्ध हामी झुक्दैनौँ ।’

अभियानकै क्रममा सोमबार मधेशी जनताहरुसँग होली खेल्ने एमाले नेताहरुले जनाएका छन् ।

एमालेको अभियान बिथोल्ने उद्देश्यले मधेशी मोर्चाले बन्दको आह्वान गरेपछि एमालेले मेची–महाकाली राष्ट्रिय अभियानको रुट परिवर्तन गरेको थियो ।

Skip This