Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो एजेन्डा हो : प्रधानमन्त्री


0
Shares

नयाँ शक्ति नेपालले सोमबार बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा आफू र आफ्नो पार्टीले विगतदेखि नै अगाडि सार्दै आएकोले त्यसको पक्षमा आफू रहेको बताएका हुन् ।

उनले सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने बाध्यताकोबीचमा सो एजेन्डालाई कायम राख्न ‘नोट अफ डिसेन्ट’सहित आफूले संविधानमा हस्ताक्षर गरेको र सो एजेन्डामा हाल पनि उत्तिकै प्रतिबद्ध रहेको बताए ।

संविधान निर्माणमा सहयोग पुर्‍याउने लक्ष्यका साथ आठबुँदे ‘नोट अफ डिसेन्ट’ लेखे पनि एजेन्डामा सम्झौता नगरिएको उल्लेख गर्दै आजै एजेन्डा सम्झाउन आएकामा नयाँ शक्तिलाई धन्यवादसमेत दिए ।

व्यवस्थापिका–संसदमा सो एजेन्डाको पक्षमा दुई तिहाइ पुर्‍याउने अवस्था नभएकाले तत्काल सो एजेन्डा पारित हुने सम्भावना नरहेको भन्दै प्रधानमन्त्रीले त्यसका लागि मिलेर अगाडि बढ्न आफू र आफ्नो पार्टी तयार रहेको उल्लेख गरेको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकाले त्यसलाई सफल बनाउन सबैपक्षले सार्थक सहयोग गर्नुपर्नेमा जोड दिए ।

नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गएको प्रतिनिधिमन्डलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने, समानुपातिक तथा समावेशी आधारमा निर्वाचन गर्नुपर्नेलगायत विषयमा माग राख्दै संकलन गरेको हस्ताक्षर बुझाएको थियो । रासस