२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


जनमतसंग्रहमार्फत् नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ : शशांक


0
Shares

वामी, फागुन १७ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मको विषय जनमतसंग्रहबाट टुंग्याइनुपर्ने बताएका छन् ।

गुल्मीको मुसिकोट नगरपालिका–७ स्थित महेन्द्र आदर्श माविको हिरक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको पाँचौं दिनको कार्यक्रमको उद्घाटन गर्दै डा. कोइरालाले सनातन वैदिक धर्मको भूमि भएकाले नेपाल धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र हुनुपर्ने बताए ।

उनले भने–‘धर्मको विषयमा जनमतसंग्रह गरिनुपर्छ र सबैको चाहनामा हिन्दूराष्ट्र घोषणा गरिनुपर्छ ।’

उनले नेपालमा धार्मिक अतिक्रमण भइरहेको आरोप लगाए । केही धर्मको नाम लिँदै उनले हिन्दूहरु धर्म संरक्षणमा जागरुक हुन आवश्यक रहेको बताए ।

आफूले बीपीको पद पछ्याइरहेको भन्दै डा. कोइरालाले काम गरेर देखाउने उद्घोषसमेत गरे ।

कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठ, कांग्रेस महासमिति सदस्य चन्द्र केसी, मूल समारोह समितिका संयोजक प्रकाश काफ्ले, प्रधानाध्यापक बुद्धिप्रसाद शर्मा, शिक्षक धनपति खरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

विद्यालयमा प्राविधिक शिक्षाअन्तर्गत् इन्जिनियरिङ कक्षा सन्चालन गर्ने उद्देश्यले सन्चालन गरिएको श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा भाष्कर कमलनयन गौतमले प्रवचन दिइरहेका छन् ।

हालसम्म झन्डै रु चार करोड संकलन भइसकेको छ । महोत्सव यही फागुन २१ गतेसम्म चल्नेछ । रासस