
प्रदीप पौडेल (इमेज)
पोखरा, फागुन १७ । हेलिकोप्टर दुर्घटनामा परी असामयिक निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ पोखरामा अन्त्येष्टि गरिएको छ ।
आफन्तजन र शुभचिन्तकहरुको विशाल उपस्थितिमा उनको अन्तिम संस्कार गरिएको हो ।
पर्यटनमन्त्री अधिकारीको शुक्रबार अपराह्न रामघाटस्थित सेती नदी किनारमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
स्व. अधिकारीलाई जेठा छोरा विराजले दागबत्ती दिएका थिए ।
त्यसअघि, नेपाली सेनाको एउटा टुकडीले तोपको सलामी दिएको थियो ।
रामबजारस्थित प्रदर्शनीस्थलमा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न भएपछि सुरु भएको शवयात्रा नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटसम्म पुगेको थियो ।
शवयात्रामा हज्जारौंको संख्यामा स्थानीयहरु सहभागी भएका थिए ।
श्रद्धाञ्जलि र शवयात्रामा सहभागीहरु लोकप्रिय नेतालाई अकस्मात् गुमाउनुपर्दा निकै भावविह्वल बनेका थिए ।
आफन्तजन र केही शुभचिन्तकहरु भक्कानिँदा अरुलाई पनि मन थाम्न मुस्किल भइरहेको थियो ।
शुक्रबार पोखरामा दिनभर बजार खासै खुलेनन् भने सवारी–साधनपनि निकै कम चलेका थिए ।
अनेरास्ववियुका कास्की अध्यक्षसहित केही स्थानीय युवाहरुले स्वःस्फूर्तरुपमा केशमुन्डन गरेका थिए ।
काठमाडौंबाट आएका उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा नेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई, राजन भट्टराई, घनश्याम भुसाल, मन्त्री पद्मा अर्याल, कांग्रेस नेता चन्द्र भण्डारीले पोखरामै अधिकारीलाई श्रद्धाञ्जलि दिएका थिए ।
यस्तै, गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश सरकारका मन्त्रीहरुले पनि श्रद्धाञ्जलि दिएका थिए ।
स्व. अधिकारीको काजक्रिया मालेपाटनस्थित घरमा हुने भएको छ ।
रवीन्द्र अधिकारीलाई पोखरेलीहरु आफ्नो क्षेत्रको योग्य र जुझारु नेताकारुपमा लिने गर्दथे ।
विद्यार्थी राजनीतिदेखि नै चर्चित विकासप्रेमी नेता नेता गुमाउनुपर्दा कास्कीवासीले ठूलो रिक्तताको महसुस गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्