
प्रतीक्षा खनाल र नवीन स्थापित (इमेज)
काठमाडौं, फागुन १७ । राष्ट्रमा युवाको संख्या बढी हुनुले देशको समृद्धिको ढोका खोल्ने आधार तयार गर्दछ ।
पछिल्लो जनगणनाअनुसार देशमा युवाको संख्या उल्लेख्य रहेको छ ।
तर, युवाशक्तिलाई सही ढंगले परिचालन गर्न नसक्दा धेरै युवा विदेशिएका छन् ।
केही समयपछि यही युवा जनसंख्या ज्येष्ठ नागरिक भइ आश्रित समूहमा प्रवेश गर्नेछन् ।
२०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ ।
जसअनुसार विकासका लागि योगदान दिन सक्षम नागरिकको संख्या ५४.२ प्रतिशत रहेको छ ।
अब २०७८ सालमा गरिने जनगणनामा यो संख्या वृद्धि भइ ७२ प्रतिशत हुने पुर्वानुमान रहेको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्याल बताउँछन् ।
युवाको जनसंख्या धेरै हुनु राष्ट्रका लागि एकदमै स्वर्णिम समय हो । धेरै राष्ट्रले यही बेलामा प्रगति गरेका छन् ।
प्रत्यक्षरुपमा योगदान दिन सक्षम युवाको जनसंख्या आधाभन्दा बढी भएका बेला उनीहरुमार्फत् लाभ लिन सक्नुपर्ने जनसंख्याविद्को ठहर छ ।
तर, दुःखलाग्दो अवस्था के छ भने युवाको जनसंख्या धेरै भएपनि ती युवा विविध कारणले देशभित्र छैनन् । देशको अवस्था बिग्रँदै जाँदा कामका लागि विदेशिने युवाको संख्या धेरै छ ।
यसैगरी, अध्ययनका लागि विदेशिने पनि उत्तिकै छन् । यीमध्ये अध्ययनका लागि विदेशिने धेरैजसो भोलि नफर्किने सम्भावना छ भने कामका लागि विदेशिनेचाहिँ युवा अवस्थापछिमात्रै फर्कनेछन् ।
जसरी देशमा अहिले युवाका जनसंख्या बढी छ, त्यसैगरी भोलि यी युवा वृद्ध हुँदा ज्येष्ठ नागरिको संख्या बढी हुनेछ ।
पछिल्लो तथ्यांकअनुसार परिवारमा एउटामात्र वा सकेसम्म कम बच्चा जन्माउने प्रचलन बढ्दै गएको छ ।
जन्मदर घट्दै गएको तथा औसत आयु बढ्दै गएको अवस्थामा भविश्यमा एक वयस्क बराबर धेरै वृद्ध हुनेछन् ।
भोलि देशमा बृद्धहरुको संख्या बढी भइ देश बृद्ध हुनुअगावै उचित रणनीति अपनाउनु जरुरी छ ।
सरकारले पाँच वर्षभित्रमा रोजगारका लागि विदेश जानु नपर्ने अवस्था सिर्जना गर्ने बताएर कामपनि गरिरहेको छ ।
विदेशबाट फर्कने युवालाई आकर्षित गर्ने कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम तथा सामाजिक सुरक्षा कार्यक्रमपनि सरकारले ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्